• २०८१ चैत ६ बिहीबार

पुष्पहाङ लोवाको कथासंग्रह ’मना लाङयोःखा’ लोकार्पण

किरात याक्थुङ् चुम्लुङ्हिम ललितपुरमा साहित्यकार, कथाकार कवि पुष्पहाङ लोवाको कथासंग्रह ’मना लाङयोःखा’ लोकार्पण गरिएको छ ।याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले शनिबार ललितपुरमा आयोजित समारोहमा सो कथासंग्रह सार्वजनिक गर्नुभएको हो ।

किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको आयोजनामा सार्वजनिक गरिएको हो । सिरिजङ्गा लिपिका माध्यमबाट लिम्बू भाषामा लिखित संग्रहमा १२ वटा कथा छन् । पाँचथरमा रहेर मातृभाषा साहित्य सिर्जना अभियानमा संलग्न साहित्यकार लोवाको यसअघि ‘तङअम्भुङ’ र ‘याग्राङसिङ’ कवितासंग्रह प्रकाशित छन् । कृतिबारे समीक्षा गर्दै साहित्यकार स्वप्निल स्मृतिले २०१८ सालदेखि लिम्बू भाषामा आधुनिक कथालेखन सुरु भएको बताउनुभयो । सार्वजनिक गरिएको ‘मना लाङ्योःक्खा’ कथासंग्रह लिम्बू मानकभाषामा स्तरीय लेखन रहेको उल्लेख गर्नुभयो ।

‘सामाजिक, सांस्कृतिक, राजनीतिक विषयवस्तु समेटिएको यो कथासंग्रहले याक्थुङ (लिम्बू) साहित्यलाई नयाँ मोडतर्फ डोर्याएको छ,’ उहाँले भन्नुभयो, ‘समाजमा भूइँतहमा रहेका पात्रहरू, दबिएका, थिचिएकाहरूको कथा रहेका छन् ।’ यसैगरी समीक्षक भिमा खजुम मुसुमले संग्रहित कथाले लिम्बू जाति, संस्कृति, परम्परा, परिवर्तनशील समय, जनविश्वास र आधुनिक पुस्ताप्रति सचेतनाका विषय उजागर भएको बताउनुभयो । ‘तत्कालीन सशस्त्र द्वन्द्वकालमा लिम्बू भाषा र सिरिजंगा लिपिका अभियन्ता युवती माओवादी भएको आशंकामा राज्य पक्षबाट मारिएको दर्दनाक कथाले देशको परिवेशलाई उजागर गरेको छ,’ उहाँले भन्नुभयो ।

समालोचक मलिसा याक्थुम्बाले कथाले लिम्बुवान भूमिको माटो बोकेको उल्लेख गरे । ‘कथामा लिम्बुवानको माटोको सुगन्ध छ,’ उहाँले भन्नुभयो, ‘मुन्धुम संस्कार संस्कृतिमात्र होइन पहिचानलाई जीवन्त तुल्याएको छ ।’ यसैगरी साहित्यकार निशेष आङदेम्बे, विष्णु सिंगक, आशा नेम्वाङलगायतले लिम्बू भाषा साहित्यबारे आफ्नाधारणा राख्नुभएको थियो ।