• २०८१ माघ ११ शुक्रबार

बकैया–कला साहित्य महोत्सव–२०७८ समापन

काठमाडौँ/३० फागुन, २०७८

आफ्नो स्थापनाको २९ औँ वार्षिकोत्सवका अवसर पारेर झरना साहित्यिक परिवार मकवानपुरले हेटौडामा आयोजना गरेको दुइदिने बकैया- कला साहित्य महोत्सव- २०७८ सातबुँदे बकैया घोषणापत्र जारी गर्दै समापन भएको छ ।

महोत्सवमा छ प्रदेशका २० जिल्लाका स्थानीय साहित्यकर्मी, कलाकर्मी, सङ्गीतकर्मी, संस्कृतिकर्मी तथा स्थानीयहरू गरी सयौँको उल्लेखनीय उपस्थिति रहेको थियो । बकैया गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा बुद्ध मावि, बकैया- ३ हात्तीसुँडेको सहकार्यमा सोही विद्यालयको प्राङ्गणमा यो महोत्सव आयोजना भएको हो ।

महोत्सवको पहिलो दिन विभिन्न १० व्यक्ति तथा संस्थालाई विविध विधाका पुरस्कार तथा सम्मानहरू प्रदान गरिएको थियो । सोही दिन साङ्गितिक साँझसमेत आयोजना भएको थियो । त्यस अवसरमा मकवानपुरका ईश्वर खड्का, प्रमेन्द्र महर्जन, राज घिमिरे तथा पर्साका अजमत अली अन्सारी लगायतका गायक तथा सङ्गीतकर्मीहरूको साथ रहेको थियो । महोत्सवका दुवै दिन जिल्ला तथा जिल्ला बाहिरका साहित्यकारहरूका विविध विधाका साहित्यिक सिर्जनाहरूको साथमा स्थानीय साङ्गीतिक/सांस्कृतिक प्रस्तुति/झाँकी/खैँजडी भजन आदिसमेत महोत्सवका आकर्षण रहेका थिए ।

साहित्यिक तथा गैरसाहित्यिक पुस्तकहरूको प्रदर्शनी तथा स्कुले विद्यार्थीहरूको चित्रकला प्रदर्शनीले पनि महोत्सवको रौनक थपेको थियो ।
महोत्सवकै क्रममा झसाप उपाध्यक्ष विश्वनाथ सञ्जेलको ’फर्कियौ किनारबाट’ नामक गजल सङ्ग्रहसमेत विमोचन भएको थियो । साथै महोत्सवमा पठन संस्कृति अभियन्ता सुरेश श्रेष्ठको अगुवाइमा ’पुस्तकालय अभियान मकवानपुर’ द्वारा ’हात्तीसुँडे सार्वजनिक पुस्तकालय’को स्थापनार्थ पुस्तकहरू सङ्कलन भएका थिए ।

कार्यक्रमको अर्को विशेष आकर्षण साहित्यिक तथा सामयिक बहसहरू समेत थिए । महोत्सवमा ’सिर्जनामा स्थानीय रङ’, विद्यालयः सिर्जनशील सीप विकासको केन्द्र’, ’स्थानीय तहमा प्रज्ञा–प्रतिष्ठान अभ्यासः कति सहज कति असहज ?’, स्थानीय सरकार सञ्चालनका पाँच वर्षः कति सफल कति असफल ?’ विषयक चारवटा छुट्टाछुट्टै बहसहरूसमेत सञ्चालन भएका थिए ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सरला बोलखेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल, मकवानपुरे अग्रज साहित्यकारहरू तुलसी थापा, आरसी रिजाल, निमेष निखिल साथै झरना साहित्यिक परिवार मकवानपुरका सल्लाहकार, पुरस्कार संस्थापक, स्थानीय जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवाहरूका साथै जिल्लाभरिका विभिन्न विद्यालयहरूबाट सयौँको सङ्ख्याका बालबालिका र स्थानीय बासिन्दाहरू लगायतको उपस्थितिले महोत्सवलाई झनै भव्य बनाएको थियो ।