समाचार

तिमी छौ कि छैनौ ?
छौ भने, मसँग छैनौ
छैनौ भनूँ भने,
तिमी मेरो मन भरि छौ ।
मुटुमा छौ भनूँ भने
किन रित्तो लाग्छ मुटु मेरो ?
आँखामा छौ भनूँ भने
किन तिमीलाई देख्दिनँ म
तिमी मभित्र छैनौ भनूँ भने
किन सम्झनामा आइरहन्छौ
किन साउन बनी
आँखाबाट उर्लिरहन्छौ
किन मेरा गीतहरूमा
धुन बनेर गुञ्जिरहन्छौ
किन सुगन्ध बनेर
मेरो वरिपरि मगमगाइ रहन्छौ ?
किन तिमी हुनु र नहुनुको
दोसाँधमा छु म
तिमी छौ भन्ने आभासले
त्यसै त्यसै रमाउँछु म
तिमी छैनौ भन्ने यथार्थले पनि
त्यसै त्यसै आहत हुन्छु म
यादमै भएपनि,
तिम्रो मायाको स्पर्शले
जस्तै सागर पनि तर्छु म
नहुनुको वास्तविकताले,
जितेर पनि हार्छु म ।
कस्तो मेरो जिन्दगी,
कस्तो तिम्रो चाहना यो ?
म सँग तिमी छौ,
म सँग तिमी छैनौ
तिमीबाटै सुरू र
तिमीबाटैअन्त्य यो ।
साभार: मेघा(कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)