• २०८१ फागुन ६ मङ्गलबार

‘जुनकिरीको सङ्गीत’को ‘रजत–वर्ष संस्करण’ बजारमा

काठमाडौँ ।

साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ प्रथम-प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ । पर्वतको दलित बस्तीको यथार्थचित्रण, उत्पीडितहरूको सामूहिक जागरण र जातव्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसन्सेल ‘रजत-वर्ष संस्करण’का रूपमा बजारमा ल्याएको हो ।

दोस्रो संस्करणलाई उपन्यासकार संग्रौलाले ‘गोडमेल संस्करण’को संज्ञा दिएका छन् । ‘‘उपन्यासको मूल विषय र दृष्टिकोणलाई यथावत् राखी वर्णन र वृत्तान्त एवम् संरचना र शैलीमा यसमा सानोतिनो गोडमेल भएको छ,’’ संग्रौलाले उपन्यासबारे भने, ‘‘पहिलो संस्करणमा यसले फराकिलो हदसम्म पाठक र समीक्षकको परखको परीक्षामा बस्न पाएन । दोस्रो संस्करण बजारमा आएपछि यसको पाठकीय परखको परीक्षा हुने मेरो विश्वास छ ।’’

२०५६ सालमा पहिलो संस्करण प्रकाशित भएपछि ‘जुनकिरीको सङ्गीत’ आम पाठक वृत्तमा बहुचर्चित भए पनि कम्युनिस्ट वृत्तमा विवादित उपन्यासका रूपमा समेत प्रचारित भएको थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को शीर्ष नेतृत्वले उपन्यास र उपन्यासकार दुवैको सैद्धान्तिक आलोचना गरेको थियो । यसबारे संग्रौला भन्छन्, ‘‘माक्र्सवाद सन्देह, प्रश्न र वादविवादका माध्यमले हरेक कुराको सत्यताको परीक्षण गर्ने दर्शन हो । र, आफ्नै चिन्तन र व्यवहारको नित्य सजग आलोचक भई विकसित भएको दर्शन हो यो । तर म माक्र्सवादी हुँ भन्ने माओवादी नेतृत्वको चिन्तन र व्यवहारको जब छिसिक्क आलोचना भयो, आलोचकको मुख थुन्न सर्वत्र कडिकडाउ फर्मान जारी गरियो । र, ‘जुनकिरीको सङ्गीत’लाई पाठकीय परखको परीक्षामा बस्नै नदिई हैकमी कोर्राले चुटेर असफल र हानिकारक घोषित गरियो ।’’.

पर्वत जिल्लाका दलित बस्तीको कथा बुनिएको उपन्यासमा पात्रहरूको संवादमा स्थानीय लवजको प्रयोग गरिएको छ । परिशोधित संस्करणमा आञ्चलिक भाषा, लवज र शैलीमा पनि पर्याप्त सम्पादन गरिएको सम्पादक सङ्गीतले बताए । ‘‘कथाले मात्रै होइन, भाषिक हिसाबले पनि यो उपन्यासले एउटा विशिष्ट आञ्चलिक स्वाद दिनेछ,’’ सम्पादक सङ्गीतले भने, ‘‘आम पाठकले यस विशालकाय उपन्यासमा नौलो भाषिक स्वाद पाउनेछन् भने पर्वत-बागलुङका रैथाने पाठकले आफ्नो बोलीचालीको मौलिकता भेट्नेछन् ।’

नयाँ संस्करण संग्रौलाका चयनित रचनावलीको पहिलो शृङ्खलाका रूपमा प्रकाशित गरेको बेला पब्लिकेसन्सका अध्यक्ष वन्दना ढकालले बताइन् । बेलाले संग्रौलाका सम्पूर्ण रचनाहरू चयन तथा सम्पादन-संयोजन गरेर तीन खण्ड र पन्ध्र ठेलीमा ‘संग्रौला समग्र’ प्रकाशन गर्ने भएको छ । ‘संग्रौला समग्र’ शृङ्खलाका तीन खण्डमध्ये पहिलोमा आख्यान (उपन्यास र कथा), दोस्रोमा निबन्ध तथा संस्मरण र तेस्रोमा विविध रचनाहरू रहने छन् । समग्रको निबन्ध खण्डअन्तर्गत ‘आफू आफैतिर फर्केर’ पुस्तक यसअघि नै प्रकाशित भइसकेको छ ।