• २०८१ असोज २४ बिहीबार

ऐना

समीना खनाल ‘पृथा’

समीना खनाल ‘पृथा’

अरूले भनेको आफूले सुनेको वेदमा जे छ त्यो सँसारमा छ वेदमा जे छैन त्यो सँसारमा पनि छैन रे । साँच्चै होला सँसारको रचना त पक्कै कसैले गरेकै छ । पृथ्वी नै बस्न योग्य भनेर कसैले परीक्षण गरेकै हुनुपर्छ । अरू ग्रहमा कुनै प्राणी नहुनु भए पनि पृथ्वीको जस्तो नहुनुले यस वास्तविकतालाई उजागर गरेको छ । ऐना पनि परापूर्व कालदेखि नै त थियो होला नि ! आजको जस्तो नभए पनि केही त पक्कै थियो । शान्त तलाउमा गएर हेर्दा पानीमा आफ्नै अनुहार देखिन्छ । त्यहीँबाट ऐनाको परिकल्पना भएको हुनसक्छ । स्याउ भुइँमा खस्दामाथि नगएर किन तल झर्यो भनी सोच्ने न्युटनजस्ता पक्कै थिए होलान् । पृथ्वीमा रहेको गुरूत्वाकर्षण शक्ति पत्ता लाग्यो र त हामी ढुक्क छौँ हावामा उड्दैनौँ भनी । यही जमिनले तानिरहन्छ नहल्ली स्थिर रहन सक्छौँ ।गज्जब छ संसारको सृष्टि ।
पानीमा देखिएको आफ्नै अनुहार हेर्न पक्कै कुनै वस्तु बनाउन सकिन्छ भनी दिनरात तल्लीन भएर सोच्नेले ऐनाको निर्माण गरेको हुनुपर्छ । पृष्ठभागमा पारो लगाएर अनुहार आदि हेर्नको लागि अपारदर्शी बनाइएको सिसा जसले बाहिरी रूपलाई प्रस्टसँग देखाउँछ । ऐनाले हुबहु- जस्ताको तस्तै देखाउँछ भनिरहँदा कहिलेकाहीँ धोका पनि पाइन्छ ।
आकारको कुरा गर्ने हो भने सिसा काटेर बनाइन्छ यसको आकार । ठूलो सानो जत्रो बनाए पनि हुन्छ आवश्यकताअनुसार । चढाउन र दान दिन हो भने एउटा आँखा मात्र देखिने ऐना किन्छ मान्छे । घरमा राख्न हो भने भित्तै ढाक्ने राख्छ मान्छे । हरेक वस्तु अर्का र आफ्ना लागि भनी वर्गीकरण गर्न जानेको छ मान्छेले । दाजुभाइको बन्डाको के कुरा वास्तवमा मान्छे नै बन्डैबन्डामा खण्डित भएको छ । दिने र पाउनेबीचको फरक सोचबाटै सुरू गर्छ मान्छे ।
महत्त्व नहुने भए चर्केको ऐना हेरे भाग्य चर्किन्छ भन्छन् । विज्ञानसँग जोडेर हेरे चर्केको सिसाले चोटपटक लाग्छ भन्ने हो कि ? भागवत सुन्दा पनि दिनमा तीनपटक ऐना हेर्नु त भन्छन् तर किन हो खै ? भौतिक शरीरमा लागेको दाग देखियोस् र मेटाउन सजिलो होस् भनेरै त होला, शरीरमा लागेजस्तै दाग आत्मामा पनि लाग्ला है भनेर सचेत गराएको पो हो कि वा आफूलाई चिन भनेर हो !  हुनसक्छ आफू जे छौ सधैँ त्यही रहु भन्ने सङ्केत गर्न खोजेको ।
ऐनाले झुठ बोल्दैन भन्ने भ्रम बाँचिरहेको सँसारमा, ऐना त झुठ नै बोलेर जीवन्त देखाउन खोज्दो रहेछ भन्ने जानेको क्षण धर्ती भासियो मेरो पैतालाबाट । जब सिक्री लगाउँदा उल्टो पर्याे हात, एकछिन हतास भएँ । भ्रममै रहँदा विश्वास थियो ऐनाप्रति । भ्रम पनि कति मीठो हुँदो रहेछ यथार्थ नजान्दासम्म । वास्तवमा केही नबुझ्दा केही लोभ र मोह नहुँदा कति खुसी हुँदोरहेछ मान्छे । ऐनासँग केही क्षण भए पनि त्यस्तै भयो ।
मन देखाउने भए, भित्री रूप देखाउने भए मान्छेले ठूलाठूला ऐना कतै राख्ने थिएन होला । मनको वास्तविकतालाई अनुहारले प्रस्ट्याउने भए सानो ऐना पनि राख्थेन कि ! सिङ्गारसँग जोडिन्छ ऐना, होइन भने प्रकृतिले जस्तो रूप पठाएको छ त्यसैसँग चित्त बुझाउँथ्यो होला मान्छेले । समय अनुसार फेरिने रूप त प्राकृतिक नै हुने भैहाल्यो । के बाल, के जवान, के बूढो सबैमा आउने परिवर्तन नै हो जो संसारको प्राकृतिक नियम हो । सुन्दर देखिनु सबैको रहरभित्र पर्छ र जसलाई ऐनाले सघाएको हुन्छ । यो सौन्दर्यशास्त्रसँग जोडिएको छ ।
प्रतिशतमा मापन गर्ने हो भने यसले धेरै प्रतिशत बाहिरी यथार्थ देखाउँछ थोरै भ्रममा राखेर । त्यही भ्रमलाई बिर्सिएर ऐना झुठ बोल्दैन भनी आफ्नै मनलाई विश्वास दिलाएर त्यसैको प्रयोगमा अल्झिएको छ मान्छे । उल्टो देखाए पनि विश्वास छ यसमाथि । त्यसैले त पटकपटक यसैको सहयोगमा लालायित हुन्छ मान्छे । सुल्टो देखाउँदैन भन्ने कुरो परिस्थितिले बोध गराउँछ । परिस्थिति टर्छ फेरि विश्वास पलाउँछ । बाहिरी रूप मात्रै होइन, भित्री मन पनि देखाउने भए ऐनाले कि मानिसले प्रयोग नै गर्ने थिएन होला कि संसारमा लोभी र पापीको नामोनिसान रहने थिएन होला ।
दिशा फरक देखाउँछ यसले, फुटेपछि जोडिँदैन, जबरजस्ती जोडे दाग रहन्छ । मनसँग दाँजेर हेर्न मन लाग्यो साँच्चै मन पनि त टुट्यो भने जोडिदैन भन्छन् । मन कस्तो छ भित्र छ देखिँदैन ऐनाले मन देखाउन नै सक्दैन । मन देखाउने भए, भित्री रूप देखाउने भए मान्छेले ठूलाठूला ऐना कतै राख्ने नै थिएन होला । मनको वास्तविकतालाई अनुहारले प्रस्ट्याउने भए सानो ऐना पनि राख्थेन कि ?
मनसँग मनको नाता देखाउन सक्ने भए कत्तिको सम्बन्ध बिगारिसक्थ्यो होला यो ऐनाले । ऐनाको परिकल्पना गर्दा स्त्रीको चरित्र र पुरुषको भाग्य दैवलाई पनि थाहा हुँदैन भन्ने कुरो स्वीकार गरेको हो कि ? छालाले छेकेको शरीरभित्र के- के छ के- के बाहिरबाट देखिँदैन । ऐनाले पनि त्यस्तै गरेको होला ।आखिर ऐना पनि त मान्छेले बनाएको न हो । भन्छन्, आफूभन्दा उत्कृष्ट त मान्छेले बनाउनै सक्दैन । क्षमता छ भने आफैँ सर्वोत्तम बन्छ रे मान्छे कसैले बनाएर होइन । होइन भने सबै असल र राम्रा नै हुन्थे होलान् यो संसारमा ।सृष्टिभन्दा माथि मान्छे हुने पनि होइन । सृष्टिले उत्कृष्ट बनाएकोले आफूभन्दा माथिको त के बनाउला र खोई ? न ठूलो नै बनाउन सक्छ । ठूलो बनाएँ भन्ने भ्रम मात्रमा बाँचेको छ मान्छे । सृष्टि गर्दा त आमाबुवा जन्माउन सक्दैन मान्छे । जन्माउने त छोराछोरी नै हो जो आफूभन्दा सानै हुन्छन् । अनि ऐनाको के कुरा भयो र !
साहित्य समाजको ऐना हो भनिरहँदा, साच्चै साहित्य के हो त ? कि साहित्यले पनि भ्रम नै सिकाउँछ कि, खै के हो ? प्लेटो र अरस्तुको कुरो नमिलेको ठीकै पो हो कि, कविलाई देश निकाला गरेका कुरा । आखिर भावना त बोल्छ नि साहित्यले । साहित्यभित्र यथार्थ खोज्ने प्रतिशत त कमै होला।त्यसको लागि त इतिहास लेखिएकै छन् ।
गज्जब छ विज्ञान ऐना बनाउँछ अनुहार हेर्न तर मन देखाउन सक्दैन । पक्कै बनाउनेले नै त्यही निर्देश गरेको होला । थोरै लोभी अनि थोरै पापी मन भएकाले आविष्कार गरेको होला । नियति त यसले देखाउने कुरै भएन । हुन त ऐना अध्यात्मसँग पनि जोडिएको छ जस्तो लाग्छ, तरल ध्युमा छायाँ हेर्नूस् त भनी पुरोहितले यजमानलाई पूजाआजामा भन्ने गरेको सुनिएको छ ।बुझाउनेले नबुझाइदिँदा भ्रम बाँच्न बाध्य भएको पनि होला कि जस्तो लाग्छ ।
जे होस् ऐना छ, त्यसैले मान्छे चिटिक्क परेर हिँड्छ, सजिन्छ, ठाँटिन्छ ।आफैँलाई सुन्दर देखेपछि आफैसँग मुस्कुराउँछ मान्छे ऐनालाई साक्षी राखेर । आज त आफूलाई सबैले हेर्ने भए भन्ने भ्रम साँचेर । प्रफुल्लित मुद्रामा कर्मयोगी बनेर निश्चित अवधिको यात्रा तय गर्छ । जे देख्छ त्योचाहिँ देखाउँछ ऐनाले । हाँसेर हेर्दा हाँसिदिन्छ आफू रुँदा ऐना रुँदैन किनभने आजसम्म ऐनाको आँसु पुछिदिनु परेको छैन तर आफ्नै प्रतिबिम्ब रोइरहन्छ । स्थिर छ यो, प्रकृतिको नियम जस्तै । चलायमान हुँदो हो त वस्तुको आकृतिले यथार्थको पहिचान बनाउने थिएन होला ।
मानौँ ऊ अभिन्न छ र त ऐनाले झुठ बोल्दैन । यो एउटा भ्रमयुक्त विश्वास पालेको छ प्रयोग कर्ताले । जय होस् यो भ्रम बाँच्ने मान्छेलाई भ्रम नै संसार हो भनेर भुल्न सघाउने भ्रमयुक्त तर भ्रममुक्त देखिने ऐनाको !!


(‘पृथा’ चर्चित साहित्यकार हुन् ।)
[email protected]