• २०८१ माघ ९ बुधबार

काँकरभिट्टामा तीन दिने साहित्य महोत्सव सम्पन्न

‘पर्यटन प्रवर्धन र साहित्य सँगसँगै’ भन्ने मूल नाराका साथ झापाको काँकरभिट्टामा तीनदिने साहित्य महोत्सव ‘रिडर्स फेस्टिबल २०२४’ भव्यताका साथ सम्पन्न भएको छ । मेचीनगरमा भर्खरै स्थापना भएको रिडर्स अभियान नेपालले आयोजना गरेको रिडर्स फेस्टिबलमा वर्मा, भुटान र भारतका नेपाली भाषी सर्जक तथा नेपालका सर्जकहरुको सहभागिता रहेको थियो । मेची सामुदायिक भवनमा मङ्सिर २८ देखि ३० गतेसम्म आयोजना गरिएको महोत्सवमा विभिन्न विषयमाथि प्यानल डिसकसनका साथै रचना वाचनको कार्यक्रम राखिएको थियो ।

फरक शैलीमा सञ्चालन गरिएको महोत्सवमा विभिन्न विद्यालयबाट छानिएका विद्यार्थीहरुबाट उनीहरूले अध्ययन गरेका पुस्तकमाथि उनीहरूको पाठकिय दृष्टिकोण राख्ने अवसर प्रदान गरिएको थियो । विद्यालय र क्याम्पस स्तरबाट छानिएका ७३ जना विद्यार्थीहरुले उनीहरूले अध्ययन गरेका नेपाली र अङ्ग्रेजी पुस्तकहरुका बारेमा आ आफ्नो दृष्टिकोण राख्नुभएको थियो । विद्यार्थीहरुको प्रस्तुतिलाई साहित्यकारहरु डा. देवी नेपाल, केशवप्रसाद पौडेल र गीताश्री शर्माले मूल्याङ्कन गर्नुभएको थियो । विद्यार्थीहरुलाई विभिन्न १० ग्रेडमा विभाजन गरिएको र महोत्सवको अन्तिम दिन उनीहरुलाई पुरस्कृत समेत गरिएको आयोजक रिडर्स अभियान नेपालका सदस्य खेम गौतमले जानकारी गराउनु भयो ।

मङ्सिर २८ गते शुक्रबार आयोजित एक भव्य समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महोत्सवको उद्घाटन गर्नुभएको थियो । साहित्य र पर्यटनलाई सँगसँगै अघि बढाउनु आवश्यक रहेको उल्लेख गर्दै आयोजक रिडर्स अभियान नेपालका अध्यक्ष तथा पत्रकार सन्तोष आचार्यले त्यसैको प्रवर्धनका लागि साहित्य महोत्सव आयोजना गरिएको बताउनु भयो । यसैबीच महोत्सव समापनको अवसर पारेर पत्रकार आचार्यद्वारा लिखित दुई कृति ‘रिडर्स गफ’ को दोस्रो संस्करण र भर्खरै प्रकाशित ‘नबोल्ने कला’ को विमोचन समेत गरिएको थियो ।

साहित्यकार तथा प्राध्यापक डा. देवी नेपाल र लेखक आचार्यका पिता पदमप्रसाद आचार्यले संयुक्त रुपमा ती दुई कृतिको विमोचन गर्नु भएको थियो । विमोचन समारोहमा बोल्दै लेखक तथा पत्रकार आचार्यले बोल्ने कलाका बारेमा धेरै चर्चा भए पनि नबोल्ने कलाका बारेमा आफूले पुस्तकमा उल्लेख गरेको बताउनु भयो । मिडिया रिसर्च सेन्टर झापाले प्रकाशन गरेको पुस्तक विमोचन समारोहलाई साहित्यकार तथा पत्रकार तीर्थ सिग्देलले सहजीकरण गर्नु भएको थियो ।

महोत्सवको अन्तिम दिन मङ्सिर ३० गते आइतबार कार्यक्रममा आमन्त्रित सर्जकहरुलाई झापाका विभिन्न पर्यटकिय तथा धार्मिक स्थलहरुको भ्रमण गराउने कार्यक्रम भने प्राविधिक कारणबस रद्ध गरिएको आयोजक समितिले जनाएको छ । यसअघि त्यस भ्रमणको संयोजन होटल व्यवसायी संघ मेचीनगरले गर्ने जानकारी गराइएको थियो । साहित्यपोस्ट मिडिया पार्टनर र मेचीनगरपालिकाको सहकार्य रहेको महोत्सवमा अन्य विभिन्न संघसंस्थाको सहयोग रहेको थियो ।’सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन’ भन्ने मूल नाराका साथ गत असोजमा रिडर्स अभियान नेपालको स्थापना भएको थियो ।