• २०८१ श्रावाण ११ शुक्रबार

पाँच मुक्तक

शर्मिला श्रेष्ठ

शर्मिला श्रेष्ठ

एक
ठग्नसम्म ठग्यो चेपारे बोलीले अब कबुल हुनुहुन्न
विगतमा अन्जानमा धुरी चढायौँ फेरि भूल हुनुहुन्न
भन्न त भन्ने छन् आगामी दिनमा इमानदार भै चल्ने छु
ललाइ फकाइमा धृतराष्ट्र जस्तै अनुकूल हुनुहुन्न ।

दुई
हृदय फाटिसकेपछि कठिन हुन्छ तुन्न पो हजुर
माकुरालाई नि सजिलो भएन जाल बुन्न पो हजुर
मानव र माकुराको भाग्य पनि विधाताले मिलायो कि
कलियुगी सन्तति आफूले सोचे जस्तो हुन्न पो हजुर ।

तीन
सुन्दैछु तिम्रो पुनः आगमनको चर्चा गल्ली गल्ली-चोकमा छ
आफ्नो खल्ती मात्र मनग्य नभर्नु जिम्मेवारी सब थोकमा छ
विश्वासमा घरिघरि बहुमूल्य ओहदा प्रदान गरेका छन्
कबै नभुल्नु त्यहाँ पुर्याउने जन्मभूमि अथाह शोकमा छ ।

चार
ऑसु बगाउनुको के अर्थ ढाडस दिने कोही नभएपछि
कमजोर छु भन्नु बेकार साहस दिने कोही नभएपछि
सही ठेगाना विना भावका पुतलाहरु यत्रतत्र छरिन्छन्
संयमी भै सम्हालिनु र्छ बाकस दिने कोही नभए पछि ।

पाँच
जतिसुकै कमाए पनि पाएको उपलब्धि पर्याप्त हुँदैन
मानिसको जात कति लोभी चाहना कहिल्यै समाप्त हुँदैन
स्वास्थ्य र बलबुताले भ्याएसम्म छोड्नु हुन्न मेहनत गर्न
यो कुरा मनन गर्नू गन्तव्यमा पुगे विना त्यो प्राप्त हुँदैन ।


(हाल अमेरिका निवासी श्रेष्ठ चर्चित साहित्यकार हुन् ।)
[email protected]