मूर्दा र जीवन - Aksharang
  • २०७८ जेठ ४ मङ्गलबार

मूर्दा र जीवन

प्रथा

प्रथा

घाम लाग्यो
उनीहरू मस्त सुतिरहे
तर ऊ सयल खोज्न हिँड्यो !
जवानी उम्लियो
उनीहरू चुपचाप बसिरहे
तर ऊ प्रेमीकालाई चुम्बन गर्न हिँड्यो !
०००
भोकले सतायो
उनीहरू लमपसार परिरहे
तर ऊ ढिकुटी लुट्न लुटेरा बनी हिँड्यो !
शासक आयो
उनीहरू बेखबर लडिरहे
तर ऊ विद्रोहको आवाज बोकेर हिँड्यो !
०००
कुनै एक दिन
नालबाट गोली छुट्यो
र उसको छातीमा गएर ठोक्कियो !
ऊ रोयो
तर उनीहरू रोएनन्
किनभने
रूनलाई त आँसु चाहिन्छ !
०००
उनीहरू मूर्दा थिए
र ऊ एउटा उद्दाम जीवन थियो !
………………………………….
okpratha@gmail.com