क़लमकार

सिसार साहित्य प्रतिष्ठानको आयोजनामा गीतकार डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो ”गीतसङ्ग्रहको लोकार्पण गरिएको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्व र प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि, सभापति, लेखकलगायत विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्यले लेखकको गीत गाएर शुभकामना दिनुभएको थियो ।
लेखकका सहपाठी साहित्यकार विक्रमभक्त जोशीले सबैलाई स्वागत गरी अन्तरङ्ग सम्बन्धबारे जानकारी दिनुभयो । गीतकार करुण थापा, गायक सुदर्शन विक्रम राणा, गायिका लक्ष्मी घिमिरे लगायतले गीत र मन्तव्य सहित शुभकामना दिनुभयो । प्रमुख अतिथि बरालले लेखकका गीत नयाँ स्वादका भएको धारणा राख्नुभयो । पुस्तकका सम्पादक तथा त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दीविभागका प्रमुख उप प्रा. ज्ञाननिष्ठ ज्ञवालीले गीतले आफूलाई मन्त्रमुग्ध पारेको धारणा राख्नुभयो । लेखकले सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।