• २०८१ बैशाख १७ सोमबार

मुरली वादक

राजु उवरकोटी

राजु उवरकोटी

जीवनको भाका उमेरको गीत सबै सबै रोमाञ्चको
तलमाथि माथितल भाका मै त छ जिन्दगी ।

सुनसान पनि एक लय
औँलाहरूको चालमा श्वास प्रवाहमा
श्वासोच्चरण धुनको म एक वादक ।

लय–लय धुनको बैँसको चालमा मदोमत्त तालमा
प्रणयको कालमा प्रेमिल त्यो पलमा
कामको आग त्यो बल्यो ज्वाला दन्क्यो आगो
मस्त समागममा छन् क्षणक्षणमा विन्दुहरू
चालहरूको तालमा नाच्दछन् धुनहरू ।

प्रसन्नताको प्रश्न उत्तर यी प्रेमिल धुनहरू
चाहको बासनामा छाप छाड्दै आए कै थिए
आदिम ओठहरू
आँखालाई नृत्यमग्न बनाउँदै
शिरको भाव भङ्गीमा इसाराको प्रस्ताव थियो
तिम्रा परेलीका चालमा, प्रस्तावमा हस्ताक्षर थियो ।

हृदयका पुतली रागको बसमा परि प्रस्ताव फूलमा
मुस्कानको जीवन्त फूलमा सफरको सुवासमा
साथैको यात्राको कल्पना प्राकृत जीवन छ आदिम ।

जीवन छ, छ प्रेम, छ धुन
धुन छ हृदय तिर
तिषित छ हृदय
प्रणयका धुनहरूमा
तिरीरी–तिरीरी म तिम्रो
तिम्रो मेरो दिलको भाका
तिम्रै प्रिय गीत अब मुरलीको भाका
इसाराहरूको चालमा म कतै डुबिरहेछु
प्रस्तावमा म नेत्रले कल्पना साँचिरहेछु
रोक्दा रोक्दै यौवन तिमीलाई सुम्पिसकेछु
राख्दिन भन्दभन्दै दिलमा सजाइ रहेछु
मुरली गाइरहेछ
म तिम्रै गीतको लयमा हर्षित श्वास फेरिरहेछु
परेलीका झिमझिमले तिमीमै कदै भइसकेछु

म तिम्रा मुहारमण्डल हेरि गुनगुनाइरहेछु
मेरो हृदयको साथीले पनि तिम्रै साथ मागिरहेछ
उमेरको खेलले मात्र होइन प्राणले पनि चाहिरहेछु ।


राजु उवरकोटी