उमिहोतारु नियात्रासंग्रह बजारमा आएको छ । अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायतबासी साहित्यकार कृष्ण बजगाईंको यो चौंथो नियात्रासंग्रह हो । यसअघि बजगाईंका ‘युरोशियाको स्पर्श, ‘भाया साक्रा र ‘दाइबुचु नियात्रासंग्रह आइसकेका छन् । उमिहोतारु नियात्रासंग्रहमा अमेरिका, बेलायत र जापानका एक्काइस यात्रानुभूति सङगृहीत छन् । विदेशका इतिहास, कला, साहित्य र संस्कृति आदिका विषयमा नियात्रा लेख्न मन पराउने बजगाई अलग धारका नियात्राकार हुन् ।
नियात्रा, कथा, लघुकथा, बालकथा र हाइकुका दर्जन बढी कृति प्रकाशित गरिसकेका बजगाईं डायोस्पोराका स्थापित साहित्यकार हुन् । नेपालमा हुँदा साहित्य सिर्जना, सम्पादन तथा साहित्यिक संघसंस्थामा सक्रिय बजगाई परदेशको भूमिमा पनि २२ वर्षदेखि लेखन, सम्पादन र साहित्यिक सस्थाको नेतृत्वदायी भूमिका छन् । उनका एक लघुकथा नेपालको कक्षा १२ मा, दुई लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा र चार नियात्रा नेपालका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा पढाइ हुन्छ ।
बजगाईंले पन्ध्र वर्षदेखि बेलायतबाट साहित्यिक वेब पत्रिका समकालीन साहित्य डट कमको प्रकाशन तथा सम्पादन गरिरहेका छन् । उनी पाँच वर्षदेखि नियमित प्रकाशित भइरहेको नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ का प्रधान सम्पादक तथा समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष हुन् । भुँडीपुराण प्रकाशन काठमाडौंबाट प्रकाशित उमिहोतारुको मूल्य ३०० रुपैयाँ छ । उक्त पुस्तक नेपालभरका मुख्य पुस्तक पसल र अनलाइनबाट बिक्री भइरहेको छ ।