• २०८१ फागुन ६ मङ्गलबार

‘मेरो भाग्यमानी बाजा’ पुस्तक सार्वजनिक

काठमाडौँ ।

वरिष्ठ संगीतकार तथा गायक दिनेश सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित समारोहमा प्रसिद्ध गायक दीप श्रेष्ठ, संगीतकार प्रकाश गुरुङले सुब्बाको लेख निबन्ध र संस्मरण संग्रह रहेको कृति सार्वजनिक गरेका हुन् । पाँच दशकदेखि संगीतकर्ममा संलग्न सुब्बा साढे दुई दशकदेखि हङकङमा बस्दै आएका छन् । उनले नेपाली गीत, संगीत, बाजा, संगीतलिपिको प्रयोग र आफ्नो अनुभवलाई लिपिबद्ध गरेका छन् ।

यसैगरी नेपाली गीत, संगीतका निम्ति समर्पित आफ्ना गुरु अम्बर गुरुङ, गोपाल योन्जन, दिव्य खालिङलगायत स्रष्टाहरूको चर्चा गरेका छन् । ‘मेरो भाग्यमानी बाजा’,‘संगीत र ध्वनिविज्ञान’, ‘खुसीको ध्वनि’, ‘मैले बुझेको अर्केस्ट्रा र एल्लो रिभर’, ‘सिर्जनाकापाँचदशक’, ‘जीवनलाई ट्युन गर्न नसकेका गुरु संगीतकार यु बोया’, ‘धेरै वाद्यवादक बनौं’ शीर्षक आलेख रहेका छन् ।

यसैगरी ‘संगीत स्थायी र अन्तरामात्र होइन’ ‘अर्केस्ट्रको आवश्यकता’, ‘प्रायोगिक गीत’ ‘हङकङेली गीति साहित्यमा एउटा ओअसिस गीत सागर, ‘गीतभित्रको गाथा’, ‘म्युजिकल इन्टभ्ल’, ‘ध्वनि तरंग र हाम्रो मौलिकबाजा’ लगायत ३९ शीर्षकका आलेख समेटिएका छन् । अनिता गुरुङ (सुब्बा) प्रकाशक रहेको पुस्तकबारे भूपाल राई, प्रदीप बम्जन, बुलु मुकारुङ, सुवासचन्द्र ढुंगेल, दीप श्रेष्ठ, प्रकाश गुरुङ, भावेश भुमरीले चर्चा गरेका थिए ।