• २०८३ श्रावण १८, सोमबार

कवि तारा सुवेदीको पहिलो कवितासङ्ग्रह ‘अनुभूतिका महक’ कवितासङ्ग्रह लोकार्पण

काठमाडौंँ ।

कवि तारा सुवेदीको पहिलो कवितासङ्ग्रह ‘अनुभूतिका महक’ राजधानीमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा अग्रज कवि तथा साहित्यकार शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा. कृष्णप्रसाद दाहाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक तथा कवि तारा सुवेदीले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजसँग आबद्ध रहँदाका पुराना दिनहरूको स्मरण गर्दै कवि सुवेदीलाई मिलनसार, सक्रिय र लगनशील स्रष्टाका रूपमा चित्रित गरे । लोकार्पित कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा. कृष्णप्रसाद दाहालले सुवेदीलाई सम्भावनाशील कविका रूपमा प्रस्तुत गरे । करिब डेढ दशकदेखि कविता लेखनमा सक्रिय सुवेदीको यो पहिलो प्रकाशित कृति भए पनि परिपक्व सिर्जनात्मकता झल्किने उल्लेख गर्दै उनले यस सङ्ग्रहका कविताले पाठकको मन जित्ने विश्वास व्यक्त गरे।

समारोहमा अग्रज कथाकार भागिरथी श्रेष्ठ, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, पवन आलोक, विवश पोखरेल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, विधान आचार्य तथा चन्द्रप्रसाद भट्टराईलगायतले कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए । कवि सुवेदीले पनि आफ्नो सिर्जनायात्रा र कृतिसँग जोडिएका अनुभूति सहभागीहरूसँग साझा गरिन् । कार्यक्रममा सङ्ग्रहका चयनित कविताहरू विधान आचार्य, राधेश्याम लेकाली, मणि लोहनी, प्रकाश घायल, रञ्जना निरौला र खुशी अधिकारीले वाचन गरेका थिए । श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदीप सापकोटाले गरेका थिए भने डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।