• २०८१ भाद्र २७ बिहीबार

नारायण ज्ञवालीको कवितासङ्ग्रह ‘गथासो’ सार्वजनिक

काठमाडौं, फागुन २९ गते ।नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरुक कवि नारायण ज्ञवालीको पहिलो कविता–सङ्ग्रह ‘गथासो’ आइतवार एक विशेष कार्यक्रम बीच नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यक्रममा अर्थविद रत्नसंसार श्रेष्ठ, जलश्रोतविद पूर्वमन्त्री दीपक ज्ञवाली, अर्थविद तथा प्रर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी , उर्जाविज्ञ तथा नेता लीलामणि पोख्रेल, ऊर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे लगायत दर्जनौं ऊर्जा अभियन्ता तथा विशेषज्ञहरूको सहभागिता थियो ।लोकार्पित पुस्तकका बारेमा अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रधानाध्यापक तथा नेपाली विषयका शिक्षक एवं युट्युबमा बहुचर्चित ‘नेपाली व्याकरण गीत’ का सर्जक विमल घिमिरेले बोल्नु भएको थियो ।

कृतिमा विविध विषयमा केन्द्रित ७३ वटा रचना समेटिएका छन् ।२०७५ देखि २०७९ फागुनसम्म लेखिएका समसामयिक कविता तथा गीति रचनाहरू यस कृतिमा समेटिएको कुरा समीक्षक घिमिरेले बताउनु भयो ।सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १८ औं राष्ट्रिय परिषद्बैठकको महत्वपूर्ण अवसर पारेर कृति लोकार्पणको मेसो मिलाइएको थियो ।

गुल्मी घर भई हाल भक्तपुरको लोहकन्थलीमा बसोबास गर्दै आउनु भएका पूर्वशिक्षक, समाजसेवी तथा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका वर्तमान अध्यक्ष समेत रहनुभएका स्रष्टा ज्ञवालीले समसामयिक राजनीति, विभिन्न सांस्कृतिक चाडपर्वको महत्व, विजुली उत्पादन तथा खपतमा जनसचेतता तथा सहभागिता, आफ्नो गाउँप्रेम, परिवारका सदस्यबीचको हार्दिकता तथा मायामोह, बुबा आमाप्रतिको सम्मान र श्रद्धा, स्वस्थ रहनका लागि आवश्यक व्यायाम तथा योग आदि जस्ता बहुसरोकारका विषयमा अधिक तर लोकलयमा आधारित विविध स्वादमूलक रचनाहरू ‘गथासो’मा समेटिएका छन् । अझ रोचक पक्ष त, उहाँले हालै सम्पन्न गरेको एकमहिने लन्डन भ्रमणका सन्दर्भमा रचना गरेका कविताहरू पनि यस सङ्ग्रहमा समाविष्ट छन् । एक हजार प्रति छापिएको कृतिको प्रकाशन स्वयं स्रष्टाले नै गर्नुभएको हो ।