यतिबेला
सर्कसगृहका
सारा जनावर र मान्छे
उस्तैउस्तै लाग्छ
मलाई राखिएको
फलामे खोर र
सृष्टिको सबैभन्दा उत्तम प्राणीले
ढलिमली गर्ने
गगनचुम्बी अपार्टमेन्टहरू
उस्तैउस्तै लाग्छ
आफ्नै पुख्र्यौली विरासतको
घना जङ्गलमा
रमाइरहेका बेला
कोही दुष्टका हातबाट
बन्दी बनाइएपछि
मेरो दिनचर्या फेरिएको छ
बन्दी बनाउनेले खटाएर दिएको
थोरै टुक्राटुक्री आहारसँग
मेरो भोक
निरीहतापूर्वक साटिएको छ
आफ्नै दस नङ्ग्र्राले
बहादुरीपूर्वक आहार जुटाउने अवसर
सधैँभरि कहाँ मिल्दोरहेछ र ?
आफ्नै रजाइँमा रमाइहिँड्ने सुविधा
सर्कसगृहको यस नरकमा कहाँ पाइन्छ र ?
काटिनेको पीडा
काट्नेलाई के थाहा
बाँधिनेको पीडा
बाँध्नेलाई के थाहा
आफ्नै बैठककोठामा
कैदी बन्नुपरेको
तिम्रो वर्तमानको पीडा
बन्धक बनाउने
ती अदृश्य छापामारलाई के थाहा ?
हाम्रो आँखाको आकृति फरक छ
आँसुको रङ एउटै हो
आइसोलेसनको छानो र भुइँ फरक छ
पीडाको अनुभूति एउटै हो
म सर्कसगृहको
साँघुरो बाकसभित्र बन्द छु
तिमी आफैँले बनाएको
मार्वलको महलभित्र कैद छौ
फलामे बाकसभित्रको
एकान्तवासको लामोे अनुभवले
मलाई यही सिकाएको छ
जतिन्जेल बाँचिन्छ
यही बन्धनलाई
स्वर्ग सम्झनुपर्छ
भएको भकारी रित्तिँदै गएपछि
तिमीले पनि
मैलेजस्तै
कसैले खटाएर दिएको
थोरै राहतपानीसँग
जीवन साट्नुपर्छ
बन्धक बनाउनेले
त्यति सजिलै कहाँ छाड्दारहेछन् र !
समयले सुम्पेको
यही साँघुरो क्वारेन्टाइनलाई नै
मैलेझैँ तिमीले पनि अब
आफ्नै कर्मको उपहार ठान्नुपर्छ ।
०