• २०८३ कार्तिक १८, मंगलवार

अनेसास केन्द्रद्वारा आयोजित विश्वव्यापी नेपाली कविता प्रतियोगितामा जीवन ‘आरोही’ राई प्रथम

काठमाडौं ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसरमा विश्वव्यापी नेपाली कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा जीवन ‘आरोही’ राई प्रथम हुनुभएको छ ।

अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष लालगोपाल सुवेदीको सभापतित्व तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वाचनका लागि छनोट गरिएका ३१ कविता प्रस्तुत गरिएका थिए । प्रतियोगिताका लागि विश्वभरबाट १७५ कविता प्राप्त भएको र तीमध्येबाट ३१ कविता छनोट गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको मूल्याङ्कन डा.नेत्र एटम, डा.गीता त्रिपाठी र कवि चन्द्र गुरुङले गर्नुभएको थियो । छनोट गरिएका कवितालाई कविको नाम, ठेगाना र परिचय गोप्य राखेर कोडिङ गरिएको थियो । तीनै जना निर्णायकले स्वतन्त्र रूपमा मूल्याङ्कन गरी प्रदान गर्नुभएको अङ्कको औसतका आधारमा पाँच कविता पुरस्कृत भएका हुन् ।

मूल्याङ्कनअनुसार जीवन ‘आरोही’ राईको ‘के म नेपाली होइन र ?’ शीर्षकको कविता प्रथम भएको छ । त्यस्तै, ईन्दु भट्टराईको ‘चाँदनी’ द्वितीय तथा ईश्वरीप्रसाद रिजाल ‘उल्कापात’को ‘राष्ट्रकविका बैकिनी र मेरो बगावत’, हिरा भट्ट ‘बदमास नम्बर दुई’को ‘अक्षर रोदन’ र प्रताप चौलागाईँको ‘जब उर्लन्छ खोला’ तृतीय भएका छन् । कार्यक्रममा साहित्यकार सरुभक्त श्रेष्ठ, नाटककार अशेष मल्ल, जापानी साहित्यकार हारुहितो नोजु र प्रा.डा. व्रतराज आचार्य विशिष्ट श्रोताका रूपमा सहभागी हुनुभएको थियो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा समालोचक डा. नेत्र एटमले राष्ट्रकवि घिमिरेको साहित्यिक व्यक्तित्वबारे चर्चा गर्दै उहाँका सिर्जनामा नेपाली लोकजीवन, लोकसंस्कृति, प्रकृति, मानवतावाद र राष्ट्रियताको अभिव्यक्ति रहेको बताउनुभयो ।

राष्ट्रकविकी सुपुत्री ज्योति पौडेलले उहाँको कविता ‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो’ वाचन गर्नुभएको थियो । अनेसास बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्माले राष्ट्रकविको जन्मजयन्तीमा हरेक वर्ष विश्वव्यापी कविता प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । अनेसास बीओटीकी पूर्वसभापति तथा वर्तमान सल्लाहकार गीता खत्रीले साहित्य साधकलाई जीवित अवस्थामै सम्मान तथा पुरस्कार प्रदान गर्नुपर्ने धारणा राख्नुभयो । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले संस्था राजनीति र मुनाफाभन्दा अलग रहेर साहित्यिक गतिविधिमा केन्द्रित हुनुपर्ने बताउनुभयो । जापानी साहित्यकार हारुहितो नोजुले प्रवासमा नेपाली भाषा तथा साहित्यको प्रवद्र्धनका लागि अनेसासले गर्दै आएका गतिविधिको प्रशंसा गर्नुभयो । कार्यक्रमको सञ्चालन अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले गर्नुभएको थियो । समापनमा अध्यक्ष सुवेदीले प्रतियोगितामा पुरस्कृत कविताहरूको सङ्ग्रह अङ्ग्रेजीमा समेत अनुवाद गरी प्रकाशित गर्ने र विश्वबजारमा पु¥याउने योजना रहेको जानकारी दिनुभयो ।