समाचार
पैसाको विशाल गड्डीमुनि
कृत्रिम प्रकाशको छायामा दबिएको
थिलथिलो मानवसभ्यता
युगको
अदृश्य कालो गुफाभित्र लुकेर
शक्तिशाली तरबारको धारीलो चुचोले
नारी लज्जाको कोमल गर्भ उधिनेर
बासनाको ब्याडमा
भयङ्कर त्रासदीको बिज छर्न
तल्लीन समयको कहानी हो यो ।
शक्तिशाली ठानिएका आदर्श पात्रको
सुनको कलमले कोरेका
कलिला पुतलीका अनुहारका
दागी चित्रहरु….
शक्ति,पैसा र यौनअपराधको
अँध्यारो दस्तावेज
एपस्टीनको पापको डायरीका
पाना हातमा बोकेर
न्यायको लागि चिच्याइरहेका छन् ।
दिनको छ्याङ्ग उज्यालोमै
नारी लज्जाको अस्मिता
अपहरणमा परेको मार्मिक यथार्थ हो यो ।
लिटिल सेन्ट जेम्स टापुमा
शक्तिशाली कुटनीतिक पाहुनाका
विषालु नङ्ग्राले कोपरेर घाइते बनेका
पखेटा काटिएका पुतलीहरु
पापको टापुका कैदी
यौन प्यासको आगोमा जलेका पखेटा लिएर
यौनपिपाषु शाशक र
पाखण्डी धर्मगुरुप्रति चोरऔंली उठाइरहेका छन्
यसको विषालु बाछिटाले
युरोप अमेरिका मात्र होइन
एशियाका एलिट परिवार का
कोठाचोटासम्मै निथ्रुक्क भिजाएको छ
कहिल्यै मेटिने छैनन् यी काला दागहरु ।
मसाजको झिल्लीदार पर्दाभित्र छेलिएर
यौन शोषण
अश्लिल क्रियाकलापको चलचित्र देखाउँछ
यौन दुस्चक्र नर्कको जीवन जिउन
सेक्स ट्रयापिङ्गको पासोमा फसाएर
अपराधको कालो साम्राज्य
निर्माण गरेको दृश्य
हेर्न विवश विवश छ , समय….
यौन अपराध
शक्ति र पैसाको पर्दामा छुपेर
देह व्यापारको
कुरुप साम्राज्य चलाउछ
पापको टापुमा बगेका
निर्दोष नारीका मजबुर आँसु
कालकोठरीमा घटेको
कहालिलाग्दो कथा सुनाइरहेको
दागी समय हो यो ।
शक्ति र सम्पन्नताको पर्दाले छेलिएको
सभ्य मानिएको सुकिलो दुनियाँ
एपस्टीनको कालो डायरीका
अपराध र आँसुको मसीले लेखिएका
प्रत्येक पंतिहरु
गमेर पढ्न, सुन्न र स्पर्श गर्न तयार छ।
बाबुराम न्यौपाने उत्स, दमक, झापा