• २०८३ भाद्र १५, सोमबार

रामकुमार पाँडेको कृति ‘कथोपचार विधि’ सार्वजनिक

काठमाडौँ ।

साहित्यकार तथा प्राध्यापक रामकुमार पाँडेको नवीनतम् कृति ‘कथोपचार विधि’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित कृतिको संस्थाका सल्लाहकार तथा बालसाहित्यकार रामबाबु सुवेदी, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, लेखक प्रमोद प्रधान, सिर्जना शर्मा, गङ्गा कर्माचार्य पौडेल र अनन्त वाग्लेलगायतले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

कवि शान्ति सापकोटाको सञ्चालनमा भएको पुस्तक विमोचन कार्यक्रममा वक्ताहरूले बालसाहित्यमा बालबालिका तथा किशोर-किशोरीका रुचि अनुसारका कथा लेखिनुपर्नेमा जोड दिनुभयो । ‘कथोपचार विधि’मा लेखक पाँडेद्वारा लिखित कथोपचार सिद्धान्त तथा विधिमा केन्द्रित १२ वटा लेख सङ्गृहीत छन् । त्यस्तै अनन्त वाग्ले, डा. चूडामणि बन्धु, प्रमोद प्रधान र डा. ऋषिराम शर्माका लेखमा कथोपचार विधिको सिद्धान्त, अभिप्रायगत लेखन, बालचरित्र निर्माण तथा व्यक्तित्व विकासमा शैक्षिक प्रयोजनका लागि उपदेशात्मक कथा प्रयोगबारे चर्चा गरिएको छ । कृतिले बालसाहित्यमा कथाको भूमिका, बालबालिकाको रुचि तथा व्यक्तित्व विकाससँग कथाको सम्बन्धका विविध पक्षलाई समेटेको छ ।