• २०८१ श्रावाण ११ शुक्रबार

कविताको पूजा

बसन्त चौधरी

बसन्त चौधरी

म तिमीलाई
अक्षरको बगैँचामा
फुलेको फूलझैँ  हेर्छु
म तिमीलाई
बहारको सौन्दर्यझैँ  हेर्छु
म तिमीलाई
प्रकृतिको आश्चर्यझैँ  हेर्छु
कविता,
तिमी आराधना हौ, पूजा हौ
मेरो मन्दिर हौ, धर्म हौ
मेरो मुटुभित्र उम्रिने
जीवनको मर्म हौ

कविता !
तिमी कहिले वनमा फुल्छौ
कहिले मनमा फुल्छौ
कहिले मुक्तिमा फुल्छौ
कहिले बन्धनमा फुल्छौ
तिमी ईश्वरले बनाएको
सृष्टि हौ
मान्छेलाई मान्छे बनाउने
कृपादृष्टि हौ
तप्त मरूभूमिमा
गङ्गाजलको वृष्टि हौ

कविता,
तिमी चाहिन्छ,
मान्छेलाई मान्छे बनाउन
मान्छेभित्रको मान्छे बचाउन
सृष्टिलाई सुन्दर बनाउन
सुन्दरतामा सृष्टि रचाउन

कविता,
तिमी भेटिँदा एक दिन
म भन्ने छु
तिमी मलाई
त्यसै गरी देख्ने छौ
जसरी म
तिमीलाई लेख्ने छु र
तिमी डुल्ने
बाटोमा
सम्झना बनेर छेक्ने छु ।

साभार: तिमीविनाको म (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)


तीन वर्ष

मनमाया