अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षेत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने सर्जकहरुलाई सम्मान गरिएको हो ।
काभ्रेको पनौतीमा आयोजित सम्मान सर्मपण तथा पुस्तक लोर्कापण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा इतिहास शिरोमणि हरिराम जोशीलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ । यस्तै, समालोचक तथा साहित्यकार प्रा. डा. लक्ष्मणप्रसाद गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ । साथै इतिहासकार प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान समर्पण गरिएको छ ।
यसै गरी, कृष्णसुन अक्षरमार्ग साहित्यिक सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार नरेशबिर शाक्य सम्मानित भए । साहित्यकार डा. गार्गी शर्मालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने साहित्यकार विजयध्वज थापालाई ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्धारा सम्मानित गरिएको छ । यस्तै, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार रामसुन्दर देउजा सम्मानित भए ।
सम्मानित प्रतिभाहरूका बारे वरिष्ठ साहित्यकार मोहन दुवालले प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले सम्मानित प्रतिभाहरुलाई दोसल्ला, सम्मानपत्र प्रदान गरे । यस्तै, प्रल्हाद केसी र ध्रुबनारायण र्विन्द्र आषिस शैली, ध्रुब कृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरुलाई माला, टीका , मायाको चिनो तथा नगद प्रदान भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि केके कर्माचार्यले अक्षरमार्गको असलकर्मले सबैलाई असल काम गर्न प्रेरित गरेको बताए । त्यस्तै सम्मानित स्रष्टा हरिराम जोशीज्यूले संस्कृति मानिसको पहिचान भएको धारणा राखे । कार्य्क्रममा प्रा. डा. लक्षमणप्रसाद गौतम, प्रा. डा. पुरुशोत्तमलोचन श्रेष्ठ, डा. गार्गी शर्मा, नरेशबीर शाक्य, विजयध्वज थापा, सूर्य लाकोजू, विजय कर्माचार्य, तारा केसी लगायतले मन्तव्य व्यक्त गरे ।
अक्षरमार्गका संयोजक, साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा दुईवटा पुस्तक पनि लोर्कापण गरिएको थियो । सूर्यप्रसाद लाकोजद्धारा लिखित’ पनौतीका केही जात्रापर्वहरू’ र ’कवितामा समवेत स्वरहरू’ नामक कविता सङ्ग्रहको पनि लोकार्पण भएको छ । उक्त सङ्ग्रहमा नेपालसहित अन्य देशका कविहरूका कविता सङ्ग्रहित छन । सो पुस्तकको टिप्पणी प्रा.डा. शैलेन्दप्रकाश नेपालले गरेका थिए ।