परापूर्वकालदेखि
माटोको लडाइँ पढ्दै, सुन्दै आएको थिएँ
सबैले माटोकै लागि लडे
माटो खोज्दै, माटो खस्रँदै
कोही बढ्दै गए, कोही छोड्दै गए
माटोको युद्धमा
मानदेवदेखि पृथ्वीनारायणसम्म
सबै यही माटोमै बढे
छरपस्टिएको माटो समेटेर
एक ढिस्को नेपाल बनाए
त्यसपछि कतिले फेरि जोड्दै गए
कतिले जोडेको माटो पनि छोड्दै गए
परापूर्वकालदेखि वर्तमानसम्म
चल्दै छ र चलिरहेको छ
माटोको लडाइँ
किनभने
मानिसको जिजीविषा हो माटो
मानिसको घरसंसार हो माटो
सान–सौकतको पर्यायवाची हो माटो
मानिसलाई परिवार बनाउने
जीवनको अपरिहार्य हो माटो
हामी माटोको युद्धमा होमिएर
आफू नमाट्टिएसम्म
माटो जोड्ने होडबाजीमा
दौडिरहेका छौँ
कोही युद्ध जित्दैछन्
कोही युद्ध हार्दैछन्
कोही युद्धमा मर्दैछन्
आफू नमाट्टिएसम्मको युद्धमा
माटो चिन्नेहरू
माटोमा मोती फलाउँदै छन्
च्यातिएको भोटोले पसिना पुछ्दै
माटोमा बाँच्नेहरूका लागि
माटो खेलाउनेहरू
माटो जोड्दैछन् सत्ताको चास्नीमा डुबेर
देश–दुनियाँबाट बेखबर
स्वार्थमा आफू र आफन्तका लागि
माटोमा जन्मिहुर्केका युवाहरू
आफ्नो माटोबाट टाढिएर
माम खोज्दै
पुर्खाको माटो बेचेर विदेशिँदैछन्
सुवर्ण सपना किन्न
अनि शिक्षाहीन नेताहरू
माटो जोड्दै छन्
उनीहरूको पसिनोको रेमिटेन्स पाएर
प्राणी, वनस्पति र पर्यावरण सबै
माटोमै आश्रित छन्
थाहा छ सबै नै माटोमै मिसिन्छन् कालान्तरमा
तर पनि हामी माटोयुद्ध लडिरहेका छौँ
तराईदेखि पहाडसम्म
जाति र धर्मको नाममा
आफ्नै माटोमा उभिएर
अरूको माटोमा नतमस्तक गर्दै
त्यसैले भन्छु
माटो छोएर कसम खाने दिन गए अब
कसम खानेहरू गद्दार हुन थालेपछि
माटोका लागि मर्नेहरू छैनन् अब
अरूलाई मारेर माटो जोड्नेहरू बढ्न थालेपछि
माटोमा मातृत्व हुन्छ बुझ्नेहरूका लागि
माटोमा जीवन हुन्छ भूमिहीनहरूका लागि
किनभने माटो भन्नु नै आमा हो
माटो भन्नु नै देश हो
देश सम्झनु नै माटो हो ।
त्यसैले माटोको अवमूल्यन नगरौँ
माटोको श्राप लाग्ला
माटो छ र त हामी छौँ
देशदेखि दूरदेशसम्म
माटोले हामीलाई बाँधेको छ
माटोको सम्झनामा ।
(रावत चर्चित साहित्यकार हुन्)
[email protected]