• २०८१ भाद्र २६ बुधबार

भोलिका कथाहरू

भीष्म उप्रेती

भीष्म उप्रेती

संसारभरिको सबैभन्दा उत्कृष्ट कथा कुन होला ? त्यस्तो कथा, कहानी जसले एकैचोटि मनलाई, मस्तिष्कलाई हल्लाओस्, एकदम गहिरोसँग समाओस् र हामीलाई सोचमग्न बनाओस् ।
म आफूले पढेका र नाम चलेका लेखकका फिक्सनका किताब, घटना र पात्रहरू सम्झन्छु । म आफ्नै वरिपरिका स- साना तर प्रेरणादायी, मुटु छुने घटनाहरू पनि सम्झन्छु । म अखबारका रिपोर्टिङ्हरूमा दौडन्छु, अखबारका अक्षरहरूमा हिँड्छु । त्यसो त अधिकांश अखबारहरू जीवनको ढुकढुकीभन्दा पनि सनसनीपूर्ण स्टन्टहरूले भरिएका हुन्छन् । किनभने, अखबारका मालिक र सम्पादकलाई लाग्छ, बजारअर्थतन्त्रले गाँजेको दुनियाँमा अब स्टन्टहरू नै बिक्छन्, तिनैले दिन्छन् अधिक नाफा । तर त्यहीँ पनि कुनाकानीमा, अखबारका ठूला आवाज र घटनाहरूका छायाँमा परेका खबर र रिपोर्टिङ्हरू पनि यदाकदा भेटिन्छन् । ती खबर र रिपोर्टिङ्हरूले हाम्रा मन र मस्तिस्कलाई झङ्कृत बनाउँछन्, हाम्रो मुटुमा रक्तसञ्चार गर्दछन् र हाम्रा छातीहरू भावनाहरूले भरिदिन्छन् । त्यहाँ गहिरा विषादहरू, वेदना र पीडाहरू हुन्छन् । तिनैभित्र मान्छेलाई जगाउने खालका स- साना प्रेरणा र सन्तुष्टिका उज्याला चमकहरू पनि हुन्छन् ।
यी स- साना विषयवस्तुले बढी छुन्छन्, भावुक बनाउँछन् र बाँच्नलाई नयाँ कुरा सिकाउँछन् । यिनै सबैको बीचमा बसेर म आफ्नै वरिपरिका कुरा सोच्नेगर्छु- फोहोर जथाभावी नफाल्न सिक्नुछ, जथाभावी फालिएका फोहोरहरू टिप्नुछ ।
गाउँमा बसाइँ सरेर केही नयाँ छिमेकीहरू आएका छन् । तिनीहरूसँग चिनाजानी र मित्रता गर्नुछ ।
आँगनको बगैँचामा नयाँ फूलहरू रोप्नुछ । भएका बिरुवालाई गोड्नु र पानी हाल्नुछ ।
घर र गाउँका बालबालिकाहरूलाई भेला गरेर घाम डुब्नुअघि उनीहरूसँग एकछिन खेल्नुछ । उनीहरूका आँखामा धेरैधन्दा धेरै सपना भरिदिनुछ ।
घुम्नुछ, मान्छेहरूसम्म पुगेर उनीहरूको मन बुझ्नुछ, उनीहरूमा भएको मान्छेलाई भेट्नु र जगाउनुछ । र, केही कविताहरू पनि लेख्नुछ ।
मान्छे असल र खराब तत्त्वहरूको संयोजनबाट बनेको हुन्छ । मान्छेले बाँच्नका लागि सम्झनायोग्य काम गर्नुपर्छ । त्यस्तो काम सानो वा ठूलो जे पनि हुनसक्छ । त्यसको लागि आफूभित्रको असल तत्त्वलाई चिन्नु र बढाउनुपर्दछ । कल्पनाशीलताले, भावुक संवेदनशीलताले मान्छेभित्रको असल तत्त्वलाई बढाउन मद्दत गर्दछन् । तर मान्छे धेरैजसो त आफैँभित्रको खराब तत्त्वसँग पराजित भइरहेको हुन्छ, त्यसैको वशमा परेर परिचालित भइरहेको हुन्छ । आफैँभित्र फर्केर हेर भनेको यसै अवस्थालाई चिन्नका लागि हो, स्वचालित हुनको लागि हो । ज्ञानी, महात्मा र गुरुहरूले ध्यानका विधिहरूको विकास गरेको र ध्यानका लागि उत्प्रेरित गरेको यसैका लागि हो ।
हामीले त मान्छे बन्नुछ । हामीले मान्छेको अनुहार पाएका छौँ, मान्छेकै बोली पाएका छौँ र मान्छेकै जीवन पाएका छौँ । तर मान्छे बनेका छैनौँ । मान्छे बन्न सिक्नुछ । मानिसले अमूल्य जीवन जिउनको लागि पाएको हो । तर आज मान्छेले जीवन जिउन भने बिर्सेको छ । फेरि भन्छु, जीवन बाँच्नका लागि प्रचूर कल्पनाशीलता चाहिन्छ । कल्पनाशक्ति बढाउन कविता, सङ्गीत र पेन्टिङ्ले सहयोग गर्दछन् । कविता, सङ्गीत र पेन्टिङ् मान्छेले प्रकृतिबाट निःशुल्क प्राप्त गरेको कलाका विभिन्न स्वरूपहरू हुन् । तर मान्छेले बाँच्ने कलालाई अझ कलात्मक बनाउन चाहिने यिनै कल्पनाशीलता बिर्सिएको छ, बिर्संदै र तिरस्कार गर्दैगएको छ । मान्छेले आफूलाई यतिबिघ्न कुराहरू निःशुल्क दिने प्रकृति र ईश्वरप्रति कृतज्ञता ज्ञापन गर्न बिर्सेको छ । वास्तवमा जीवन र कलाको सम्बन्ध यसरी देखिन्छ ।
यही चिन्तालाई प्रसिद्ध साहित्यकार अमृता प्रीतम पनि ‘दिवारों के साये में’ भन्ने किताबमा यसरी व्यक्त गर्दछिन्- ‘मुस्किल के छ भने मान्छेले जिन्दगी पाएर पनि जिउने कुराको कल्पना गर्न सकेन । यो कल्पना नभएपछि मान्छे विभिन्न किसिमका अपराधका पर्खालहरूले घेरिएर रहन लाग्यो ।’ अमृताको यस भनाइबाट उज्यालोको अर्को पाटो पनि खुल्दछ । कल्पनाशीलताको सम्बन्ध स्वतन्त्रतासँग पनि छ । मान्छे जति कल्पनाशील हुन्छ त्यति नै स्वतन्त्रताको उपयोग गर्न सक्दछ । स्वभावैले मान्छे स्वतन्त्रता मन पराउँछ । आधुनिक राज्य व्यवस्थामा समेत मान्छेको स्वतन्त्रताका धेरै पक्षलाई आधारभूत अधिकारसँग जोडिएको छ र तिनलाई संरक्षण एवम् व्यवस्थित गरिएको छ । तर मान्छे आज फेरि तिनै मान्छेकै स्वतन्त्रताका क्षेत्रहरूलाई अतिक्रमण गरिरहेको छ । मान्छे मान्छेहरूकै बीचमा विभिन्न पर्खाल खडा गरिरहेको छ । मान्छे आज आफ्नै दुःखका कारणहरूको सिर्जना गरिरहेको छ ।
आजको यो भागदौड, यो तानातान, लोभ, ईष्र्या, अहम् र कालो उन्माद के हुन् र ? भोलि माटामुनि पुरिने हुन् । आजका मान्छेका अनेकौँ मुकुन्डाहरू पनि भोलिका लागि कथाहरू हुन् । कथा कति सुन्दर र प्रभावकारी हुन्छ, कति प्रेरणादायी र जीवन्त हुन्छ भोलि भन्ने कुरा आज गरिने कर्मले निर्धारण गर्दछ । तर आज मान्छेले यिनै धोखाधडी, छिनाझपटी, व्यभिचार, हिंसा र उन्मादलाई जीवन बाँचेको ठानिरहेको छ । प्रकृतिबाट उपहार प्राप्त सुन्दर हरियालीसँग मुस्कुराउनु, विभिन्न मनोदशाजस्ता अनेकौँ रङहरूसँग रङ्गिनु, नदी र झरनाका आवाजहरूलाई हृदयमा राख्नु र तिनका गतिलाई लिएर गतिवान् हुनु, ऋतुहरूसँगै परिवर्तन हुँदै प्राप्त कुराहरूलाई सर्वोत्कृष्ट किसिमले प्रयोग गर्नु, हावाले जसरी सबैलाई समान देख्नु र समान भावले प्रेम र सद्भाव बढाउनु र प्रकृतिबाट प्राप्त अमूल्य उपहारको संरक्षण गरी अझ धेरै फैलाउनु ! अनि पो जीवन बाँचेको वास्तविक अनुभव हुन्थ्यो ।
पढ्नलाई जीवन र प्रकृतिबाहेक अन्य आधिकारिक उत्कृष्ट ग्रन्थहरू हामीसँग छैनन् । तिनलाई पढ्नु छ, सोचविचार गरेर तिनैलाई चित्रहरूमा, सङ्गीतमा र कवितामा लेख्नु पनि छ, सङ्ग्रह गर्नुछ ।
निःस्वार्थ प्रेमको नाममा स्वार्थले भरिएको मायामा अल्झेर भ्रमहरूमै रमाइरहेका छौँ हामी । मान्दछु, जीवनमा भएको कठोरतालाई जित्न भ्रमहरूले पनि केही हदसम्म सहयोग गर्दछन् । तर केवल भ्रमहरू मात्र जीवनमा पर्याप्त तथा उपयोगी होइनन् भन्ने पनि जान्दछु । त्यसैले स्वार्थी मायाको मायाजालमा रहेर पनि हामीले वास्तविक बाँच्न बिर्सेका छौँ, स्वार्थभन्दा माथिको बलिदानपूर्ण प्रेम गर्न बिर्सेका छौँ ।
आजै बाँच्न बिर्सेको मान्छेले भोलिका लागि उत्कृष्ट कथा कसरी बुन्छ ?
सत्ता र शक्तिको केन्द्रमा बसेका कति अनुहारहरू सम्झनोस् त, अहिले नै वान्ता लाउलाजस्तो हुन्छ, गन्हाउँछन् ठँसठँसी । इतिहासको गतिमा भोलि तिनको कथा कसले पढ्छ, कसले सुन्छ ! त्यो कथा कसरी अघि बढ्छ ? समयको गति र स्पिरिटलाई आकलन नगर्ने र नभेट्ने जोकोही पनि छोडिन्छ, छुट्छ ।
सुदूर दुर्गम गाउँमा बच्चा जन्माउन नसकेर छटपटाइरहेकी महिलालाई हेलिकप्टरमा अस्पताल ल्याई सुरक्षित सुत्केरी गराइसकेपछि उनमा एकैचोटि उपहारमा जीवन पाउँदा र आमा बन्दाको सन्तुष्टिको चरम आनन्द कस्तो हुन्छ ! गाउँमा ज्वरोले निस्लोट लडेको मान्छेलाई दुई चक्की सिटामोलले उपहार दिएको जीवनको सन्तुष्टि कस्तो हुन्छ !
बन्जर जमिनमा केही सय हरिया बिरुवा रोपेर तिनमा पानी हाल्दै गएपछि ती हलक्क बढेर तिनले दिने अक्सिजन र छायाँको शीतल अनुभूति कस्तो हुन्छ !
हात बाँडेर, कर्म बाँडेर सँगसँगै जीवनको गीत गाउँदा बनेको इन्द्रेणीको सौन्दर्यले कति छुन्छ ! जाडोमा नाङ्गा र भोका बालबालिकाले भोजन र आश्रय पाउँदाको हर्ष कुन फूलको जोवनभन्दा असुन्दर हुन्छ ? रिमझिम वर्षापछिको उज्यालो दिनमा नीलो आकाशमुनि लर्किएको इन्द्रेणीको सौन्दर्यले छोइएको क्षणभन्दा आनन्दमय क्षण अर्को कुन हुन्छ ? बालकहरूलाई दुइटा अक्षर र तिनका अर्थ सिकाएपछि उनीहरूको अनुहार र हृदयमा खुलेको उज्यालोभन्दा न्यानो र आकर्षक अरू के हुन्छ ?
तर के आज मान्छेको मनमा संवेदनालाई बढाउने र मान्छे बनाउने यस्ता कुराहरू, अनुभूतिहरू छन् ? कति छन् ? आधुनिक र सहरी जीवनको आकाङ्क्षा र वेगमा मान्छे कति मेसिन भएको छ र कति मान्छे बाँकी छ ऊभित्र ? यी केवल प्रश्न मात्र होइनन् । यी केवल समयलाई अलमल्याउने र छक्याउने बहाना होइनन् । गमेर हेर्दा बाँच्नु अथवा बाँचेँ भन्नुको बीचको विडम्बना यहीँनेर छ ।
मलाई यस्ता प्रश्नहरूको जवाफ खोज्न मन लाग्छ । भलै, साना हुन्, भलै छोटा हुन्, यी आज जीवन बाँच्ने र मान्छे बन्ने प्रेरणाहरू हुन् र भोलिका लागि जीवनका कथाहरू हुन् । कथाहरू मात्र होइन, बुन्न जान्नेका लागि यी उत्कृष्ट कथाहरू हुन् ।
आज हामी इतिहासको नाममा, समाजशास्त्रको नाममा, आविष्कार र कलासाहित्यको नाममा हिजो लेखिएका कथाहरू पढेर आफूलाई सङ्कलन, निर्माण र विनिर्माण गरिरहेका छौँ । आज हामीलाई पनि हिजो लेखिएका सबै कथाहरू मन पर्दैनन्, हामी पढ्नमा ‘चुजी’ भएका छौँ । सकेसम्म उत्कृष्ट कथा खोजिरहेका छौँ । त्यसैले हामीले पनि आज जीवन लेख्ने हो कर्महरूले र भोलिका दिनहरूमा कथा बाँच्ने हो गर्वसाथ ।
त्यसैले बाँच्नु अथवा बाँचेँ भन्नुको आनन्द पनि यहीँनेर छ ।
हामी हुनुको सार पनि यसैमा छ ।


(उप्रेती स्थापित लेखक हुन् ।)
[email protected]