• २०८१ माघ १ मङ्गलबार

उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजित एक कार्यक्रममा युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ सार्वजनिक गरिएको छ । डा. स्वर्णिम वाग्ले, मोहना अन्सारी, डा. गोविन्द केसी, गगन थापा, मनिष झा, आशुतोष तिवारी, गोविन्द नारायण, थापाकी जीवनसाथी एरिका अधिकारी र आमा शान्ता थापाले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. वाग्लेले उज्ज्वल थापा फरक प्रकृतिको नेता रहेको र उनले देखेको नेपालको सपनाबारे किताबमा सटिक ढंगले विस्तृत रुपमा अभिलेखन भएको बताए । विद्यालयकाल देखिका साथी उज्ज्वलले देखेको सपना पुस्तकाकार रुपमा आउँदा त्यस मार्फत अबको पुस्तामा विचारको समेत हस्तान्तरण हुने उनको कथन थियो ।

महामन्त्री गगन थापाले आफ्ना असफलताबारे गहिरो गरी आत्मसमीक्षागर्दै अघि बढ्ने उनको शैली मन परेको बताए । उनले राजनीतिमा नयाँ पुस्तालाई बलियो बनाउन राजनीतिक अभियान थालेको र त्यसको प्रभाव अहिलेको राजनीतिमा पनि परिरहेको बताए । त्यसैले थापाको व्यक्तित्व लोभलाग्दो र अनुकरणीय रहेको उनको भनाइ थियो । सत्याग्रही डा. गोविन्द केसीले नेपाली राजनीतिको संस्कार परिवर्तन गर्न थापाले महत्वपूर्ण भूमिका खेलेको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले विभिन्न अभियानमा उज्ज्वल थापासँग सहकार्य गरेको सम्झनागर्दै किताबले उनको विचारलाई कार्यान्वायन गर्न सहज बनाउने विचार व्यक्त गरिन् ।

कार्यक्रममा थापाको व्यक्तित्व र किताबको महत्व माथि मनिष झा, आशुतोष तिवारी, गोविन्द नारायण र थापाकी जीवनसाथी एरिका अधिकारीले विस्तारमा बोलेका थिए । राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पना माथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गरिएको यात्रा पब्लिसिङ हाउसका अध्यक्ष ऋषिराम अधिकारीले बताए ।
किताबको प्रारम्भिक संस्करण सार्वजनिक भएसँगै संग्रहणीय संस्करण पनि प्रकाशन गरिने पब्लिसिङ्ग हाउसले जनाएको छ । त्यसैगरी पुस्तकको नेपाली संस्करण पनि छिटै प्रकाशन गरिने कार्यक्रममा घोषणा गरिएको थियो । किताबबाट प्राप्त रोयल्टी उज्ज्वल थापा फाउन्डेसनलाई प्रदान गरिने र सामाजिक कार्यमा खर्च गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो । ५९९ रुपैयाँ मूल्य रहको किताब, किताब यात्रा डटकम मार्फत नेपाल र विश्वका कुनै पनि स्थानमा किन्न सकिने किताबको वितरण सहयात्री किताब यात्रा प्रा.लि. ले जानकारी दिएको छ ।