बन्ने कसरी ? - Aksharang
  • २०७९ श्रावाण २९ आइतबार

बन्ने कसरी ?

डम्बर बिकेल

डम्बर बिकेल

“मान्छे कसरी बन्ने थाहा छैन, तँलाई ?” एक झापड हान्छिन् रूपवतीले कालेलाई । तीन फन्का घुमेर सोफा अगाडि गलैँचामा पछारिन्छ काले ।रूपवती भन्दै जान्छिन् “मान्छे बन्नसिक्, कुकुर, मान्छे बन्नसिक् । मान्छेको अनुहार लिएर जन्मिँदैमा, मान्छेको शरीर लिएर जन्मिँदैमा मान्छे भइँदैन, बुझिस् काले, नाम पनि काले काम पनि कालो ।”सोफामा खेलिरहेको कुकुरको छाउरो पप्पीलाई काखमा लि‘दै भन्छिन् “बिचरा मेरो पप्पीलाई अहिलेसम्म भोकै राखेर हेर ।”पप्पीलाई रूपवतीले काखमा राखेर दूध र भात खुवाउन थाल्छिन् । रूपवती भन्छिन् “ओए काले, सुन्, भोलिदेखि बिहानै यो मेरो पप्पीलाई नुहाइदिनू, दूूधभात खुवाउनू, बुझिस् काले, मान्छे बन्नसिक् मान्छे ।” काले रूपवतीको कुरा सुनिरहन्छ । पप्पीलाई दूधभात खुवाएको हेरिरहन्छ ।

एक वर्ष भयो कालेलाई रूपवतीले गाउँबाट पप्पी हेर्नलाई ल्याएको, कालेको काम पप्पीलाई नुहाइदिने, दूधभात खुवाउने, दिसा पिसाब गराउने हो । कालेका बाबुआमाबाट छुटाएर ल्याउँदा काले आठ वर्षको थियो, अहिले नौँ वर्षको भयो । ऊ पढाइमा पनि राम्रो छ । पप्पीको स्याहार चाकर सकेपछि बेलुकी ऊ पढ्छ पनि ।

बिहानै रूपवतीका श्रीमान् हरिनारायण सोफामा बसेर चिया पिइरहेका छन् । यत्तिकैमा काले दौडिँदै आएर भन्छ “अङ्कल, एकछिन् मोबाइल दिनुस् न ।” “किन चाहियो तँलाई मोबाइल ?” हरिनारायणले प्रश्न गर्छन् । अनि कालेले जवाफ दिन्छ “गुगलमा एउटा कुरा खोज्नु छ, अङ्कल ।” खित्का छोडेर हा“स्दै हरिनारायणले भन्छन् “के खोज्नुपर्ने तलाई गुगलमा ? जा, चुपचाप गएर पप्पीलाई दूधभात खुवाउने काम गर् । जा, गइहाल् ।”अनि कालेले भन्छ “अङ्कल दिनुस् न, एउटा कुरा सर्च गर्छु । एकदमै महत्वपूर्ण कुरा छ, अङ्कल ।” यत्तिकैमा काखीमा पप्पी च्यापेर रूपवती आइपुग्छिन्अनि भन्छिन् “ओए त यहा पो छस्, मेरो प्यारो पप्पीलाई दूधभात खुवाउनु पर्दैन ? तलाई कतिभन्नु, ल.. जा यो पप्पीलाई लगेर दिसा पिसाब गराएर ले अनि त्यो स्याम्फु लगाएर राम्ररी नुवाइदे ।”कालेले पप्पीलाई लिएर बाथरूमतिर जान्छ । हरिनारायणले श्रीमतीसित भन्छन् “हेर न रूपवती, यो कालेलाई पनि मोबाइल चाहिने भो रे । रूपवतीले भन्छिन् “किनचाहियो रे मोबाइल त्यसलाई फेरि ? खै, गुगलमा के सर्च गर्नु छ भन्दै थियो ।”हरिनारायणले भन्छन् ।“मैले मान्छे बन्नसिक् भनेको थिए , त्यही भएर मान्छे कसरी बन्ने भन्ने तरिका सर्च गर्नलाई होला ।” रूपवतीले भन्छिन् । ए हो र ? मान्छे बन्न सिक्ने हो भने त राम्रो भै गो नि । हरिनारायणले भन्छन् श्रीमान् श्रीमती कुराकानी गर्दागर्दै एकछिनपछि कालेले पप्पीलाई नुहाएर ल्याउ“छ । रूपवतीले पप्पीलाई काखमा लिन्छिन् । पप्पीलाई चुम्मा गर्छिन् अनि कालेलाई भन्छिन् “यस्तो हुन्छ नुवाइदिएको छ्या छ्या हेर, मेरो प्यारो पप्पीलाई भिजाएर मात्रै ल्याएछ । हन, ए काले, तलाई कति भन्नु, मान्छेको शरीर, मान्छेको अनुहार लिएर जन्मेर मात्रै हुन्छ, मान्छे जस्तो काम गर्नुपर्दैन ? ओए, काले कुकुर मान्छे बन्ने कोसिस गर् मान्छे बन्ने । कति भन्नु तलाई, मान्छे बन मान्छे ।” रिसाउदै रूपवतीले कालेलाई कपालमा समातेर झाङ्गल झुङ्गल पारेर लडाइदिन्छिन् । काले पछारिएर लडेपछि हरिनारायणको अनुहारमा हेर्छ त्यसपछि रूपवतीको अनुहारमा हेर्छ र अन्त्यमा पप्पीलाई नियालेर हेर्दै मनमा केही कुरा खेलाउन थाल्छ ।

भोलिपल्ट साझतिर ओछ्यानमा आफूसगै पप्पीलाई सुताएर रूपवती सुतिरहेकी छिन् । पप्पी मस्त निद्रामा छ । रूपवतीले पप्पीलाई अगालो हालेर अर्धनिद्रामा छिन् । यत्तिकैमा काले आउछ अनि भन्छ “आन्टी, आन्टी, मलाई एकछिन् हजुरको मोबाइल दिनुस् न ।”रूपवती रिसाउदै भन्छिन् “किन चाहियो तलाई मोबाइल, भाते उता जा, यहाँ मेरो प्यारो पप्पी सित सुतिरहेको देखिनस, डिस्टर्भ गर्छस् ।”कालेले भन्छ “होइन आन्टी, दिनुस् न मोबाइल, गुगलमा एउटा कुरा सर्च गर्नु छ, दिनुस् न आन्टी । छैन गुगल सुगल मेरो मोबाइलमा, जा.. भाग्, के सर्च गर्नुपर्यो तलाई गुगलमा ।” रूपवतीले भन्छिन् । “आन्टी, दिनुस् न, दिनुस् न, ल ।” कालेले भन्छ ।“ओए कुकुर भनेको लाग्दैन तलाई, कति भन्नु । यहा मेरो प्यारो पप्पीसग सुतिरहेको बेला डिस्टर्भ गर्छस् । मान्छे जस्तो व्यवहार गर् न, मान्छे बन् ।” रूपवतीले भन्छिन् । काले रूपवतीले अगालो हालेर सुतिरहेको पप्पीलाई हेरिरहन्छ, मनमा केके सोचिरहन्छ ।

भोलिपल्ट बिहान कालेले पप्पीलाई नुहाएर ल्याउछ । सोफामा रूपवती कचौरामा मासु र भात लिएर बसेकी हुन्छिन् । उनले पप्पीलाई काखमा राखेर मासुभात खुवाउन थाल्छिन् । पप्पीलाई चुम्मा गर्दै मासुभात खुवाउदैछिन् । यता काले पप्पीले मासुभात खाएको देखेर थुक निल्न थाल्छ । कालेले थुक निलेको देखेर रूपवतीले कालेलाई एक झापड हान्छिन् र भन्छिन् “चोखे लाउछस् मेरो पप्पीलाई ।”

पर्सिपल्ट साझतिर रूपवती चिच्याउदै चिच्याउदै श्रीमान्को नजीक पुग्छिन् । “बुढा, बुढा मेरो मोबाइल चोरी भयो, कसले चोर्यो मेरो मोबाइल, हेरिस्यो न, मैले त्यही“ सोफामा राखेकी थिए“ । एकछिन किचनबाट फर्केर आउदा मोबाइल छैन । अब के गर्नेहोला ?” रूपवतीले भन्छिन् ।“अब के गर्नु नि, हराएपछि खोज्नुपर्छ नि तर कहा पो खोज्ने होला ? कस्ले लग्यो होला ?” हरिनारायणले भन्छन् । अनि रूपवतीले भन्छिन् “खै, कस्ले लग्यो..लग्यो, त्यति राम्रो मोबाइल, त्यति महङ्गो मोबाइल ।”“कसले चोरेजस्तो लाग्छ तिमीलाई ?” हरिनारायणले प्रश्न गर्छन् । जवाफमा रूपवतीले भन्छिन् “अस्ति देखि त्यही कालेले मोबाइल मागिरहेको थियो, त्यसैले लग्यो होला ।” हरिनारायण भन्छन् “हो, मलाई पनि त्यस्तै लाग्दैछ, त्यसैले लगेको हुनुपर्छ ।” रूपवती भन्छिन् “मैले त्यसलाई मान्छे बन् मान्छे बन् भनिरहन्थ“े, गुगलमा खै के सर्च गर्नु छ भन्थ्यो, पक्कै पनि मान्छे कसरी बन्ने भनेर जान्नलाई उसले गुगलमा सर्च गर्न मोबाइल लगेको हुनुपर्छ ।”अनि हरिनारायणले भन्छन् “हो पक्कै त्यही हुनुपर्छ, खै कहॉ छ त्यो काले ? ल.. हिड, जौ ‘खोज्न ।”श्रीमान् श्रीमती घरको चारैतिर खोज्न थाल्छन् ।

काले भान्साकोठाको ढोका पछाडि चेपमा लुकेर मोबाइल हेरिरहेको छ । उसले गुगलमा सर्च गरेर एउटा लेख पढिरहेको छ । यत्तिकैमा हरिनारायण र रूपवती आइपुग्छन् र हेर्छन् । श्रीमान् श्रीमती दुबैजनाले मनमनै सोच्छन् कि काले गुगलमा मान्छे बन्ने तरिका पढिरहेको छ । काले उक्त लेख एकाग्र भएर पढिरहेको छ । श्रीमान् श्रीमतीले चियाएर मोबाइलमा हेर्छन् । उनीहरू छक्क पर्छन् । कालेले पढिरहेको लेखको शीर्षक थियो “कुकुर बन्ने कसरी ?”


[email protected]