मङ्सिर ४ गते फर्पिङमा जन्मिए
विजय ममोरियलमा एकैचोटि
दुई क्लासमा भर्ना भए
त्यहाँ सुकुलमा बसेर पढाइ हुन्थ्यो
त्योभन्दा पहिले घरमै पढे
छ क्लाससम्म त्यहाँ पढेपछि
वीरगञ्ज पुगे
बुवाको जागिर त्यहीँ थियो
स्वास्थ्यसेवा विभाग बुवाको अफिस
त्रिजुद्ध बहुउद्देश्य विद्यालयमा सातमा भर्ना भए
दुई वर्ष त्यहाँ पढिसकेपछि बुवाले उनलाई
फर्पिङ बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभो
तर त्यहाँ नौमा नभएर आठ क्लासमै राखिए
पहिले सात क्लासमा भर्ना हुनासाथ
उनका काकाले काठमाडौँ ल्याएर छोडेकोले एक वर्ष
र पछि फर्पिङमा फेरि आठमै भर्ना हुनुपर्दा
उनको दुई वर्ष त्यसै खेर गयो
यसरी २९ सालमा एसएलसी पास भए
त्यसपछि खै जानेर हो कि नजानेर
इन्जिनियरिङ पढे, सिभिल इन्जिनियर
पढाइ इन्जिनियरिङ, रूचि भने साहित्य ।
बाहिर पढ्न जान पाइन्छ भनेर
रूसी भाषा पनि सिके, तर पाएनन्
र उनले हवाईविभागमा जागिर खान थाले
त्यसको केही महिनापछि नै
खानेपानीमा जागिर सुरु गरे
र त्यहाँ उनले दस वर्ष बिताए ।
अफिस गर्दैगर्दा नै उनको ३२ सालमा बिहे भो
त्यसपछि छोरा भो
तलब भने त्यही तीन÷चार सय मात्र
त्यत्ति मात्र पैसाले छोरालाई पाल्न गाह््रो छ
त्यसलाई राम्रो शिक्षा दिनका लागि
केही थप गर्नुपर्छ भन्ने लाग्यो
एक मनले ट्याक्सी चलाउन तयार भए
तर पछि फेरि पसल गर्छु भन्ने सोचेर
पुल्चोकमा फुपूको घरमा ‘कोल्ड स्टोर’ राखे
जम्मा २० हजार सापट लिएर
पसल राम्रो चल्यो, जीवन सहज भयो
पछि उनको एक्सिडेन्ट भएर
केही दिन पसल बन्द गर्नुपर्ने भयो
त्योबीचमा भिडियोको बजार बढेको थियो
र उनले आफ्नो कोल्ड स्टोरलाई भिडियो पार्लर बनाए
भिडियो क्यासेट भाडामा दिने
त्यो काम पनि राम्रै चल्यो तर बिस्तारै
भिडियो क्यासेटको बजार सुक्दै गयो
साथै पसलको व्यापार पनि सुक्यो र बन्द भयो ।
लेख्न त उनी स्कुलदेखि नै लेख्थे
नयाँ सन्देशमा २८ सालमै छापिन्थे
तर त्यसलाई उनले आफ्नो साहित्यिक सुरुवात मान्दैनन्
रूपरेखामा छापिएपछि मात्र वास्तविक सुरुवात भो
स्कुलमा लेख्थे, प्रतियोगितामा पहिलो भए
प्रोत्साहन पाए र अनवरत लेख्दै गए
विभिन्न साहित्यिक किताबमा रूचि बढ्दै गयो ।
उनको पहिलो किताब निस्किनुमा विजय वजिमयको हात छ
विजयसँग उनकोे पत्र–मित्रता थियो
धेरै पछि ऊ काठमाडौँ आएको वेला भेट भयो
र ऊ आउँदा उसको गाडीमा उनीहरू कता–कता घुम्थ्ये
यही क्रममा एकफेर साझा प्रकाशन पुगे
त्यत्तिवेला क्षेत्रप्रताप अधिकारी अध्यक्ष थिए
विजयले उनलाई चिनायो– “उहाँ कथाकार ।”
त्यसपछि क्षेत्रप्रतापले उनलाई ल तपाईंका कथा लिएर आउनू
म किताब निकालिदिन्छु भन्नु भो
नभन्दै उनले दिएको केही महिनामै
‘घर खण्डहर’ भन्ने उनको कथासङ्ग्रह साझाले छाप्यो
उनी त छक्क परे– नयाँलाई उहाँले प्रोत्साहित गरेको देखेर
यो प्रोत्साहनले उनलाई थप हौसला दियो ।
त्यही वर्ष ‘बाँच्नु र बाँचेकाहरू’ निकाले
त्यसपछि ‘बिसुदाइ’ साझाबाटै छापियो
र ०४५ सालको साझा पुरस्कार पनि पायो
‘सर्वज्ञ र सेक्स’, ‘मुग्ध सिम्फोनी’
अनि ‘रोजा कथाहरू’ त्यसपछि प्रकाशित भए ।
कथाका किताबबाहेक उनको कवितासङ्ग्रह
‘शहरमा बत्ती निभेको वेला’ एकेडेमीले छाप्यो
त्यसबाहेक अनुवादसमेत गरेर १३÷१४ वटा किताब छन्
उनी वास्तवमा कविभन्दा कथाकार हुन् ।
नाटकमा लाग्नुको कथा भन्ने हो भने
अशेष मल्ल काठमाडौँ आए
‘तुँवालोले ढाकेको बस्ती’ भन्ने नाटक लिएर
त्यही क्रममा चिनजान भयो
र उनी समेत ‘सर्वनाम’ स्थापना गरेको हो
त्यतिवेला विष्णुविभु, गोविन्द सिंह, रामकृष्ण
उनीहरु धेरैजना साथीहरू थिए अशेषसँग
तर अहिले आएर इतिहास हराएको छ ।
जे होस् नाटकमा लागे–
पहिलो नाटक ‘सडकदेखि सडकसम्म’ खेले
अनि पहिलो सडकनाटक ‘हामी वसन्त खोजिरहेछौँ’ देखि
‘अतिरिक्त आकाश’ सम्म ३०÷४० वटा नाटक गरे
अतिरिक्त आकाशको कैदीले अझै झस्काउँछ
र फेरि नाटक गरूँ–गरूँ लाग्छ उनलाई ।
शब्दपथ चलाइराखेको छन्
पहिले सौरभ भनेर साहित्यिक कुरा गर्थे
त्यसपछि ‘पेन लभर्स इन नेपाल’
अनि ‘शब्दपथ’ भयो
यसले दिनको २÷३ घन्टा खान्छ ।
कति काम गर्न सकिएन होला
सकेको जति मात्र गर्ने हो
पारिवारिक वा साहित्यिक क्षेत्रमा
जति गरे पनि कम नै हुन्छ
मनको कुरा भन्ने हो भने
अब उनलाई उपन्यास लेख्ने मन छ ।
बस् !