• २०८१ श्रावाण ११ शुक्रबार

भूमण्डलीकरण

गीताश्री शर्मा

गीताश्री शर्मा

मान्यवर !
थाहा छ हजुरलाई
भूमण्डलीकरणको सही अर्थ ?
छ ! छैन ?
गाउँ शहर हुनु, शहर महानगर
नगर र महानगरको जङ्गल र
जङ्गलमा मङ्गल हुनु
अनि,
भीर–पहाड र चट्टान देखिने ठाउँतिर
बिल्डिङ, अट्टालिका र भवनमात्र हुनु
कुना- कन्दरा, सम्म- मैदान एकाम्मे हुनु
फरक केवल रङ र रोगनको
एशियन पेन्ट र कमेराको हुनु
हो भूमण्डलीकरण ।

अनि,
यी अनकन्टार जङ्गलमा
हिंस्रक बाघ- भालू होइन
स्याल- फ्याउरा पनि होइन
अनि हाप्सिलो र बाँदर पनि होइन
खतरनाक हङरायो र ब्वाँसाहरू
मितेरी साइनो लाएर बसेका हुन्छन्
अनि यहाँ
जलवायु परिवर्तनको कुरा गर्छन्
अक्सिजन, ओजन, हाइड्रोजन र मार्क्सिसजमको हल्ला पिट्छन्
छरछिमेक, आठोपाँजो , मेलापात, मरौपरौ होइन
अन्तरीक्ष, चन्द्रमा र मङ्गलग्रहमा पनि
यस्तै मकान र भ्रष्टाचारको खेती गर्ने सम्झौता गर्छन् ।

महोदय !
यहाँलाई थाहा छ ?
समयले पल्टा त खायो नि !
तर
कस्को ? र के को लागि ?
नजिककाहरू पर सरे , परकाहरू भण्डार पसे
पछाडिबाट, जस्केलाबाट र चोर दैलोबाट
घर मालिकलाई थाहा छैन,
ढुक्क छन्, आफू जस्तै च्यापु पनि हुन्, सम्झेर,
तर होइन महाशय !
यिनीहरू,
हत्केलामा संसार बोकेर हिँड्छन्
दिउसै रात पारेर रातलाई दिन बनाउने
परिवर्तनको कुरा गर्छन्
त्यतिमात्र कहाँ हो र !
परकाहरूले पासिएका छन्, टाँसिएका छन्
फेबिकोल, डेन्ट्राइट र क्वीकफिक्स
शरीरभरि दलेर ।

पानी परेर उघ्रिंदा
पारि देखिने
कुलो, समाहा, आली र फाली
लटरम्म फलेका नास्पाती, सन्तोला
झरर झरेको झरना
हरियाली बन- जङ्गल
ओखर, भद्रासे, गुराँस र लालपाती
अब छैनन्
राता- सेता, पहेंला र रङ्गीचङ्गी
टावर, एपार्टमेन्ट, कलकारखाना र
तारे होटल देखिन्छन्
बाउसे र रोपार होइन
अप्सरा, मेनका र उर्वशी
बाहिर- भित्र, तल- माथि
फ-याकफुरुक र छमछम गरेको सुनिन्छ ,
काँचका फुट्ने चुरा, सुसेली र पात नबजेर
पाउजेव, गीतार र सीतारको झङ्कार सुनिन्छ,
हुजूर !
यसलाई भूमण्डलीकरण नभनेर के भन्ने  !!

सहकाल लागेको छ ज्यू !
एकसय, दुइसय र पाँचसयका पनि होइन
रुपियाँ होइन तर रुपियाँमा गनिने
दुइ हजार, पाँच हजार र दश हजारको
च्याँखे थापिन्छ,
बत्तीको उठाउनेले पनि
लालपरी पाउँछ,
अनि,
पानी थपेर दुइचार पटियाला बनाउनेको त कुरै छैन !
पान, बिँडी, सिगरेटले पनि’ किप द चेन्ज’ पाउँछ
उसको पर्नेले
आँखा झिम्क्याउँछ,
आखिर वल्लो मैदान र पल्लो मैदान त फरक छ
नुक्कड नुक्कड, भित्रभित्रै भेटिने दुरत्व छ

कालीदासलाई सरस्वतीले
“तेरो सात जन्म विद्या छैन
यो ढुङ्ग्रोमा सातखेप पसेर निस्की
अनि
तेरो महाकवि हुने सुयोग आउँछ“- भनेर
ढुङ्ग्रोमा छिराए जस्ता
बाटा घाटा बनिएका छन्,
के यसलाई
स्वर्ण युग नभनेर के भन्ने ?

यहाँ साहित्य, भाषा, किताब र संस्कृति
परम्परा र वेषभूषा
दुक्की, तिर्की र मेम, बास्सा हुन्
नवज्योति, युथलाइब्रेरी र परिषद्
सत्ता, अट्ठा र गुलाम हुन् ।
दशैँ- तिहार, तीज र माघे सङ्क्रान्ति
छुट्याइएको जितौरी हो
पञ्चैबाजा, नौमती, गर्रा र झ्याल्टुङ
खाल सकेर बर्बराउँदै,
आफ्नै एकतला माथिको सलामलाई
सराप्तै बाटो लागेको जोक्कर हो, खालप्रसाद हो ।
मारुनी, बालुन, खुकुरी नृत्य र सिलोके
तल- माथि, वारिपारि, प्रपञ्च पारिदिने
नहल र छक्का हो,
अनि पञ्जा छाती ठोकेर मारा- रा- रा- रा- आ-  हो !!!!

आदरणीय !
मेरो त लाटो मान्छेको चेप्टो कुरा
जस्तो देख्छु-
कि मेरो गर्दन चिलायो
कि राजाका आँखा फुटे’ हो
सेतोलाई कालो कालोलाई सेतो पार्न सक्ने
कालो टाई र कालो कोट लगाउने विद्या
कुन् चरीको नाम हो !
बा- आमाले पढाउन सकेनन् ।
मैले घाँस- दाउरा र ढिकी- जाँतो देखें
हे प्रभु  ! दोष कसलाई दिने ?

दामोदर दाइले
क्यास रोकेर के हुन्छ ?
दुइलाई दश र दशलाई सय बनाएर
रूक्का र हुक्कामा
सटही र फटहीतिर
बास र गाँसको मेलो गर्नुको लागि
बन्द हुन सकेन,
हाम्रा र हाम्राहरूका त
जे छन् यहीँ छन् ,
जति छन्, पाटी पौवा
नाल गाडेकै ठाउँतिरै छन् ।

तर के गर्ने मौसुफ ?
हाम्रा त झोडा- नालाहरू पनि
ओरालो भएर हो क्यारे
बगेर उँधै गए
बन- जङ्गल, तीतेपाती र घुङ्ग्रिङ
चिरैतो, हड्चुर, पाखनबेत र बूढो ओखतीपनि
उँधै ढले
झोलुङ्गे पुल र बाँझो धर्ती पनि बसेन
सुगारटाइको कानुनले पनि थामेन अब,
हे हजुर ! हुजुर गर्नुहोस् अब-
हामीलाई त कमसेकम नबगाइदेऊ
हे तिस्ता मैयाँ !
तिमी नै छौ अब
पालनहार- तारनहार ।

जहापनाह !!!
हजुरले थाहा पाउनु भयो ?
मादलको खरी होइन
मुर्चुङ्गा र विनायो पनि होइन
होइन पिपिरीको पात
न त हो सारङ्गी र गाइनेको भाका
यहाँ त हिजो- आज
न बुझ्ने कोकोहोलो
’अर्थ न बर्थ गोविन्दगाई
टाउकामा लाउने दबाई नाइटोमा लाई ’
भने जस्तो
हाम्रा सबै सबै सबै परम्पराहरू
अतिक्रमण, अतिशयोक्ति र अनादार भइसके ।
झाँक्री, बनझाँक्री, बूढीबजु, सिंहदेवी,
माता, जानपा, फेदाङ्बा, बुङ्थिङ
साँझको, बाह्रबजे रातको र भुकभुके
उँधौली, उँभौली, कुलायन, मष्टो
नाग- नगिनी, सिमेभूमे
पिनास, सेहे, ल्यामल्यामे सबै
बित्तल परिसक्यो, आफ्नो थलो छोडेर
अन्त कतै बसैं सरिसके
लौ ! करूणानिधि, दयानिधान ?
रछे गर है, अब तिमी नै छौ !!

ग्लोबल वार्मिङ्
जलवायु परिवर्तन
ओजोनमा आएको फरक
नेता प्रणेताले गरेका भाका
विज्ञान र नासाले दिएको परिवर्तन
हाम्रो भविष्य हो, भविष्यवाणी हो
देश निर्माण हो ।

परिवर्तन हुनुपर्छ
समय सापेक्ष छ,
विज्ञानले भन्छ, धर्मशास्त्रले भन्छ
प्रत्येक मानव जातिले चाहन्छ
समय परिवर्तनशील छ
अनि
रहन सहन, उठबस र दैनिक जीवनमा आइपर्ने
विचारहरूले आकाश छुनुपर्छ
चेतना र सभ्यताको
बीज रोपेर
सभ्य समाज निर्माण गर्ने
जिम्मेवारी पनि
हाम्रो समाजभित्र नै
निहित छ, सन्निहित छ ।

राजन !
अन्त्यमा-
आग्रह ! निवेदन ! सानुनय जे स्वीकार्नु हुन्छ ??
अब,
जो कोही सित पनि
माया लाग्दो दयावान भएर होइन
अनि साना- साना, नाला, खोल्साको पनि होइन
भित्ता टाल्ने र पोत्ने त पक्कै होइन-
ठूला ठूला, विशाल विशाल
योजना र परियोजना
राजनीति र दर्शनको कुरा गरिदिनुहोला
राज्यको चौतर्फी विकास र
देश निर्माणको तर्क राखिदिनु होला
अनि समृद्ध सिक्किम र
आत्मनिर्भर सिक्किमको बाचा गरिदिनु होला
जयतु भूमण्डलीकरण जननी !!


गीताश्री शर्मा, गान्तोक, सिक्किम