• २०८१ कातिर्क २५ आइतबार

सिपाही मानबहादुर

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

हो !
म उहि मानबहादुर हो
बुबाले छोरो कमाई ल्याउला
आमाले जाहान परिवारसंगै
घरजम बसाउला
भनी आस गरेको
मानबहादुर !

आफ्नो पनि
सरकारी जागिरे भएर
जीवन निर्वाह गर्ने
घर बनाउने
केटाकेटीलाई शहर पढाउने
घरजम बसाउने
जस्ता
लाखौँ सपना बोकेको
सिपाही मानबहादुर !

नेपाली सेनामा प्रवेश गर्दैगर्दा
देश द्वन्दको भाषमा डुबेको थियो
हरेक दिन मान्छे मारिंदै थिए
सिपाही मारिउन वा बिद्रोही
नेपाली मरेका थिए
लासको डुङुर छिचोल्दै
जागिर खान हिडेको
सिपाही मानबहादुर !

सुराकीको खबरानुसार
सल्यानको दामाचौरमा
घर खानतलासी गर्न गयौ
घरभित्र पस्तै गर्दा
आक्रमण भयो
घरमा आगो लगाइयो
त्यही आगोमा डढेको
बर्दी लगाएको
सिपाही मानबहादुर !

युद्ध त बुद्धमा
परिणत भयो
शहिद हुने सहिद भए
सत्तासीन हुने सत्तामा पुगे
सबै आशा,सपना
खरानी भएको
सिपाही मानबहादुर !

अहिलेसम्म सदगत
भएको छैन
आधिकारिक रूपमा मरेको
पुष्टि भएको छैन
मेरा बुबा लालबहादुर
दामाचौर पुग्दा
मेरा हाकिमले भनेका थिए
तिम्रो छोरो दिल्ली गएको छ
चिट्ठी पठाऊँछ होला
कमाइ गरि ल्याउछ होला
मेरा बुबा लालबहादुर
सैनिक मुख्यालय पुग्दा
सैन्य प्रवक्ताले त्यही भनेर फर्काए
जो सल्यानमा भनेका थिए
छोरो फर्की आउला
आमाबुबालाई
सास तथा लासका लागि
पर्खाइ रहेको उही
सिपाही मानबहादुर !

मेरो जस्तै
घर न घाट भएका
स्वर्ग न नर्क भएका
जीवित न मृत भएका
धेरै छन, धेरै
हाम्रा लागि
न त राज्य छ
न त जनता छ
न त आगोले डढाउने बिद्रोही छ
शब्दाकाशमा रुमल्लिएको
सिपाही मानबहादुर !

बिद्रोहीका लडाकु हुन वा
राज्यका सिपाही
न्यून वर्गीय
खान,लगाउन धौ भएका
परिवारका हुन्
सुकिलामुकिलाले कहाँ चिन्दछन्
मरेर पनि मृत्यु वरण गर्न नपाएको
सिपाही मानबहादुर !

कोड माष्टरले डिउटी खटाउँदा
आज्ञाकारी भै जाने
त्यही गरि खानतलासी गर्न
गएको
कर्तव्य पालनको शिलशिलामा
खरानी भएको
सिपाही मानबहादुर !


कैलासकुमार पाण्डेय
परशुराम १२ लालढुङ्गा, डडेल्धुरा