• २०८१ माघ ९ बुधबार

‘पश्चिम दिशाको यात्रा’ बालकथा शृंखला बजारमा

काठमाडौं ।

विश्वप्रसिद्ध चिनियाँ उपन्यास ‘पश्चिम दिशाको यात्रा’लाई कथालयले बाल चित्रकथा शृंखलाका रुपमा बजारमा ल्याएको छ । चिनियाँ चर्चित लोक उपन्यासमध्येको एक ‘पश्चिम दिशाको यात्रा’ मा भारत भ्रमणमा हिँडेका एक बौद्ध भिक्षु र पछि उनीसँग साथ लागेको साहसिक र चतुर बाँदरको विस्तृत वर्णन छ । मिङ वंशको समय अर्थात् सोह्रौं शताब्दीमा प्रकाशनमा आएको उपन्यासमा एक सय भाग छन् ।

टाङ वंशका बौद्ध भिक्षु सुआन ज्याङको मध्य एसिया र भारत यात्रामा आधारित उपन्यासले चिनियाँ लोककथा र स्थानीय परिवेशलाई चित्रण गरेको छ। मूलतस् उपन्यासले चिनियाँ लोककथा, बौद्धिक दर्शन, धार्मिक यात्रा, शक्ति र सद्भावको कथा बोकेको छ । कथालयले यही उपन्यासमा आधारित बाल चित्रकथाको तीन भाग प्रकाशनमा ल्याएको छ। पहिलो भाग ‘बाँदर राजाको उत्पति’, दोस्रो ‘स्वर्गमा बाँदरको उपद्रो’ र तेस्रो ‘अनौठो टोपी’ रहेका छन्। अर्को वर्षसम्म १० भाग प्रकाशन गर्ने कथालय इन्ककी सीईओ सुनीति अमात्यले बताउनुभयो ।

धेरै पहिले पहाडको विशाल चट्टान फुटेर बाँदरको जन्म भएको कथाबाट शृंखलाको पहिलो भाग सुरु हुन्छ । ७२ किसिमका विभिन्न अवतारमा परिवर्तन हुन सक्ने बाँदर निकै शक्तिशाली थियो । एक पटकमा एक लाख आठ हजार माइल दूरी पार गर्न सक्ने क्षमता उसमा थियो । जब ऊ त्यहाँबाट बाहिर निस्कियो, स्वर्गको दरबारमा ठूलो अशान्ति मच्चायो । सम्राटलाई अपमानित र्गयो। त्यसको सजायस्वरुप एक बोधिज्ञान प्राप्त ज्ञानीले उसलाई पहाडमा टाँसिएर बस्ने श्राप दिए । यसरी ऊ धेरै वर्ष पहाडमा च्यापिएर बस्नुर्पयो । धेरै वर्षपछि एक बौद्ध भिक्षु पश्चिमतिरको यात्रामा थिए । बाँदरलाई देखेर त्यहाँबाट मुक्ति दिए । त्यो बाँदर खासमा सुन उखोङ थियो ।

अनौठो र चकचके बाँदरको गतिविधिमा केन्द्रित कथा निकै रोचक छ। तेस्रो भागसम्म आइपुग्दा आफ्नो मुक्तिपछि भिक्षुको साथमा हिँडेको बाँदरले यात्रामा भिक्षुकै सुरक्षाका लागि उठाएको जोखिम, लुटेरा र विभिन्न हिंस्रक जीवतन्तुसँगको लडाइँको साहसिक कथा छ। यस्तै, सेतो ड्रागनको रहस्य र घोडामा रूपान्तरणजस्ता प्रसंगले कथालाई पठनीय बनाएका छन् । यस पुस्तकका चित्रहरु आकर्षक, रमाइला क्रमिक सैलीमा छन् रमाइला चित्रहरूले पुस्तकलाई पढ्नलाई अझै धेरै हौसाउने छ ।

‘पश्चिम दिशाको यात्रा’ शृंखलाको अनुवाद डा. राजु अधिकारी र सम्पादन प्राडा। ध्रुवकुमार घिमिरेले गर्नुभएको हो । यो पुस्तक नौ वर्ष वा त्यसभन्दा माथिका बालबालिकालाई पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा १२ वर्षभन्दा माथिका बालबालिकाले आफै अध्ययन गर्न सक्ने प्रकाशन संस्था कथालयले जनाएको छ । पुस्तकको मूल्य ४०० रुपैयाँ राखिएको छ ।