भेनेजुएलाको कविता

मेरो विचारमा
यो युद्ध मैले मसँग लिएर आएको हुँ
आफ्ना छालाहरूमा टाँसेर
आफ्नो टाउकोमा बाँधेर कात्रो
आफ्ना नङहरूमा लुकाएर- कारण ।
जब म टिभी हेरिरहेकी हुन्छु
यो बस्छ मेरा खुट्टानिर
फोनमा कुरा गरिरहँदा
हरेक शब्दहरूका बीचको समयमा
म सुन्छु यसको ओसिएको सास
हाम्रो ओछ्यानको ठ्याक्कै बीचमा
म यसलाई पल्टिरहेको पाउँछु
म नुहाउने वेला यसले मेरो ढाड दलिदिन्छ
आफूलाई पन्छाइदिन्छ अर्कोतिर
जब म निहुरिन्छु थुक्न- सिङ्कमा ।
राती
गोलीहरू राखेर हत्केलामा
म तिर हात बढाउँछ
दह्रो गरी समाउछ मेरो हात
म कहिले पनि सक्दिनँ
उससँग आँखा जुधाउन ।
अनुवाद: राजेन्द्र शलभ