अफगानी कविता

ए पैंसो
म कहिल्यै पनि तँलाई पैसा भन्दिन
किनकि तँ पैंसो यति निष्ठुरी छस् कि
म जस्ता गरिबहरूलाई तैले कहिल्यै सम्झिनस्
तर, म जस्ता गरिबहरूले
तँलाई पलपल सम्झी रहन्छौँ ।
तँ पैंसोले मलाई त परै छोंड
विचरा धनीहरूलाई पनि बहुत सताएको छस्
स्वदेशी बैंकमा नअटाएर
बिदेशी बैंकमा राख्नु परेको छ
कुनामा थन्क्याउँदा पापको ढुसीले सेतै फुल्छस् ।
तँ पैंसो कति हराम भएको हँ ?
तँ पैंसोले कति मन्त्रीहरू र उच्च ओहोदाका मान्छेहरूलाई
मिलाएर भ्रष्टाचार गर्न सिकाईस्
कपुरी क नजान्नेहरूलाई जेल पठाईस्
पानसरा भाउजूलाई ब्यथाले च्याप्दा च्याप्दै
बिर्खे दाजुलाई बिदेश पठाईस्
कति गरिबहरूलाई गल्ली गल्लीमा मागेर खान सिकाईस्
सुनको तस्करी गर्न सिकाईस् ।
पैंसो तँ यस्तो किन गर्छस् हँ ?
पुल्ती बैनी जस्ता थुप्रै चेलीहरूलाई वेश्यालयमा बेचिस्
दुईभाइ आपसमा लडाएर सम्बन्ध टुटाईस्
माया गर्ने श्रीमतीलाई धनीको काखमा पुर्याईस्
बा लाई आधा कात्रो ओढाएर मशानघाट पुर्याईस्
खुट्टाको छालालाई चप्पलको आसमा राखीस्
बीस बर्षे लक्का जवानलाई औषधि नखुवाई मारिस्
छ महिने दुधे बालखलाई कुपोषणले मारीस्
परिक्षामा राम्रो अंक ल्याउने बिद्यार्थीलाई गोठालो बनाईस्
गोठालो गर्न नसक्नेलाई जागिर खुवाईस् ।
वाह ! पैंसो वाह ! तँलाई मान्नै पर्छ
जिम्वालको छोरालाई सुधार केन्द्रमा छिराईस्
हाकिम साबको छोरालाई मादक खुवाएर
दुर्घटनामा मारीस्
जर्साबको छोरीलाई कुलतमा फसाईस् ।
भन त
तँ पैंसोलाई मैले कसरी बिश्वास गरू ?
जोडेका सम्बन्धहरू तोडछस्
तोडेका सम्बन्धहरू जोड्छस्
कोहि ज्यूँदै मार्छस्
कोहि मरेका मार्छस्
दुर्गम बस्तिका महिलाहरूलाई सुत्केरी ब्यथामैं मार्छस्
सत्तरी बर्षे आमाको घर लुटि बलात्कार गर्न सिकाउँछस्
सिमामा खटिएका सुरक्षाकर्मिहरू मार्छस्
मरेकाहरूलाई बचाउँछस्
बाँचेकाहरूलाई मार्छस् ।
पैंसो झन् तँ आफैं ठूलो भनेर धाक लाउँछस्
हुन त तँ पैंसोले
सडक बनाएको छस्
पुल बनाएको छ्स्
मन्दिर बनाएको छस्
कर्मचारीहरूलाई तलबभत्ता खुवाएको छसस्
गाउँ धानेको छस्
शहर धानेको छ्स्
गाउँगाउँमा बजेट बनेर गएको छ्स्
स्वदेशमा उपचार गर्न झ्याउ लाग्ने ब्यक्तिहरूलाई
टिकट काटेर बिदेश पठाएको छ्स्
हुने नहुने शिर्षकमा कर उठाएको छस्
गरिबलाई मान दिएको छस्
धनीहरूलाई सम्मान दिएको छ्स्
शिक्षामा क्रान्ति ल्याएको छस्
राजनीतिमा भ्रान्ती ल्याएको छस्
तर पनि,
म तँलाई बिश्वास गर्दै गर्दिन ।
किनकि ?
मेरो सानो छोरा छोरीहरूलाई जन्मजात ऋणी बनाएको छस्
बिदेशी माटोमा थुप्रै दाजु भाइहरूलाई दासी बनाएको छस्
खुन पसिनाको रेमिटेन्स उठाएर अर्थतन्त्र धानेको छस
त्यसैले,
तँ पैंसो होस्
यो सृष्टि रहुँन्जेल तँ पैंसो रहने छस् ।
पैसा हुनलाई त पहिला
अरू देशको सामु तैंले हात फिँजाउन छोड्नुपर्छ
यहिँ देशको माटोमा फुल्नु पर्छ, फल्नु पर्छ
नत्र तँ कहिल्यै पनि पैसा बन्ने आस नगर
यदि पैसा हुन्छस भनें
पहिला तँ मर्नु पर्छ
तेरो पछि पछि म र सबै सबै मर्नुपर्छ
तब मात्रै तँ पैसा बन्छस् ।।।
लख्खु सिंह, बझाङ, जयपृथ्वी न. पा. १ पिमि, हाल सिन्धुपाल्चोक
[email protected]