• २०८१ माघ २७ आइतबार

डा. खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

डा. दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक गरिएको छ । ‘सन्देश’ कवितासङ्ग्रहमा कवि डा. खनालका कतै गद्य शैली त कतै लोक काव्य शैलीमा आएका कविताहरूले मानवसभ्यता र नेपालका अन्य समाजमा मनाइने चाडबाडका विषय कवितामा आएका छन् । त्यस्तै राष्ट्रियता, राष्ट्रिय विभूति र राजनीतिलगायतका विषयमा पनि कविता कृतिबाटै डा. खनालले आवाज उठाएका छन् ।

कविता ५ खण्डमा विभाजन गरिएका छन् । पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन् । डा. खनालले सरल भाषामा लेखेका कविता पढेर पाठकले गर्मीयाममा नदीमा सललल बगिरहेको कञ्चनपानीमा डुबुल्की मारेझैं महसुस गर्नसक्ने छन् । कवितासङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन् । यस खण्डका कविताहरूमा कवि डा. खनालले मनको काव्य विश्लेषण गरेका छन् । मन आफैँमा विराट् आकाश हो भन्ने भाव कविताबाटै पोखेका छन् । सङ्ग्रहको तेस्रो खण्डमा समावेश कविताहरू राष्ट्रप्रेमले ओेतप्रोत छन् भने चौथौ खण्डमा प्रकृति, कृषि तथा पशुपन्छी विषयमा ६ कविता समावेश छन् ।

कर्मभूमि बेलायत बनाएका कवि डा. खनालका कवितामा भने नेपाल नै नेपाल पाइन्छ । लेखकको मन भने नेपालमै रुमलिरहेको भान हुन्छ । पाँचौ खण्डमा विविध विषयमा लेखिएका कविताले मानवजीवनका सवालहरू उद्घाटन गरेका छन् । युनिभर्सिटी अफ म्यानचेस्टरसहितका विभिन्न शैक्षिक संस्थाहरूमा अध्यापन गर्दै आएका डा. खनालका दर्जन बढी पुस्तक, जर्नल आलेख र पुस्तक परिच्छेदहरू प्रकाशित छन् । ‘सन्देश’ कवितासङ्ग्रह भित्र ५२ वटा कविता समावेश छन् ।