मैले अन्तिम बिदाइ लिँदै गर्दा-
मेरो ओरिपरि आफन्तको भिड होओस् ,
डब्डबाएका आँखा होऊन् वियोग पिडाले,
तिनका मुखले-
बक्रतुण्ड गाइरहेको सुन्न पाइयोस्
मलाई उता जान गाह्रो भैरहँदा
सन्तानले पानी हाल्दिऊन् मुखमा
थोरैथोरै- नअड्किने गरी
बारम्बार- प्यास मेटिने गरी
जससँग मैले जीवनको सपना साटेकोछु
उनको काखमा मेरो शिर होओस्
र
उनका हातले
अपूर्व रूपमा सुम्सुम्याऊन् मेरा गाला
मृत्यु पनि डाको छोडेर रोओस्
उनको प्रेम देखेर
मृत्यु होस् न यस्तो-
जहाँ आफन्तलाई हात हल्लाउँदै हल्लाउँदै
मृत्युलाई अंकमाल गर्दैगर्दै
महाप्रस्थान गर्न सकूँ म ।
मैले अन्तिम बिदाइ लिँदै गर्दा-
मेरो मृत्यु पिडाले छोओस् छिमेकीहरूलाई,
बर्षौँ देखि साँधमा लगाएको
टाटी भत्काउँदै आऊन्,
यसरी रागिलो बनोस् तिनको नाक
यसरी धमिलो बनोस् तिनको आँखा
यसरी भक्कानियोस् तिनको मुटु
लाख कोसिस गर्दा पनि
लुकाउन नसकून् तिनले
आफ्नो सम्वेदना र सुस्केराहरू ।
मैले अन्तिम बिदाइ लिँदै गर्दा-
स्तब्ध बनून् मेरा साथीहरू,
पर…परका इष्टमित्रलाई पनि
आश्चर्य बनोस् म मर्दै गरेको खबर,
जिन्दगीलाई छुँदै छुँदै
थचक्क बसून्
आफू उभिएकै जमिनमा
मृत्यु होस् न यस्तो ।
मैले अन्तिम बिदाइ लिँदै गर्दा-
म बाँचेको समाज घाटसम्म पुगोस्,
छातिमा मानो चामल होस्,
फूल र टिलो छरियोस् सर्वत्र,
विजयोत्सवको शंखनाद होस्,
काललाई ललकारून् मलामीहरूले,
दुश्मनहरूपनि
मैदान खाली हुनुको पिडाले झोक्राऊन्,
चितामा अग्निको जिम्मा लगाउँदै
मनमा मलाई नै बोकेर
फर्कियून् मलामीहरू;
मृत्यु होस् न यस्तो ।
मृत्यु होस् न यस्तो-
मैले चारा दिने गरेका चराहरूले
छाक छोडून्,
छेउबाट नै बगिरहेको खोला
बेस्सरी सुसाओस्,
म माथिको बादल पनि
एकछिन टक्क अडियोस्,
बर्षौँ देखि घरको सदस्य बनेको कुकुर पनि
बेस्कन भुकोस् कालका विरूद्धमा,
मृत्यु होस् न यस्तो ।
प्रेम गर्ने र दुश्मनी गर्नेको अभावमा
जीवन, जीवन जस्तो कहाँ हुन्छ र !
मृत्यु, मृत्यु जस्तो कहाँ हुन्छ र !
जीवन र मृत्युमा
सौन्दर्य खोज्ने मान्छे हुँ म
म जलि रहँदा पनि
अलिकति गाली र विरोध चाहन्छु
शितल र प्रेमिल स्पर्श चाहन्छु
केही गुमाएको महशुस होस् मान्छेहरूलाई
मृत्यु होस् न यस्तो ।
भरत गुरागाईँ बर्बरिक (बिराटनगर )
[email protected]