नानीहरू ओइलिरहेछन्
झुप्रो झुप्रोमा खान नपाएर –
यिनैका बाबुहरू लडिरहेका छन्
पूर्व र पश्चिममा रगत बगाएर।
खूनको बदला खून दिनपर्ने
गुणको बदला गुण दिनपर्ने
तर, यहाँ त वीरका सन्तानलाई
लत्याइएका छन् दास जस्तो ।
अनि, कम्जोर बनाएर हुत्याइएका छन्
लडाईमा पर्ने पूर्खाका लास जस्तो ।
रगत र ज्यानको बदला
त्याग र बलिदानको बदला
मात्र भी.सी. र चक्रहरू ?
चाहिएन, फ्याँकिदेऊ !
यी चाँदी र पित्तलका टुक्राहरूलाई
बहिष्कार गरिदेऊ !
ती बैगुणीका बोक्रे सहानुभूतिहरूलाई
जसले केही दिएका छैनन्
तिमी र तिम्रा सन्तानहरूलाई ।
केवल नकली ’धन्यबाद ! ’धन्यवाद !’
सेता र काला हातहरुका ढाडभरि धाप ।
वीरत्वले रन्केका वीरको छातीमा
यहाँ पीरै–पीर को छाप ।
आज, आगो सल्केर डडेलो लाग्नुपर्छ
यो वीरको छातीबाट !
बम फुटाएर भत्काइदिनुपर्छ केयौँ छातीहरू
आज यही वीरको छातीबाट !!
हाम्रो रगत पानी होइन
जो सधैँ तिम्रो लागि बगाइदिऊँ ।
हामी तिम्रो दास होइनों
जो तिम्रो लागि बाँचिदिऊँ ।
हामी पनि त बाँच्नपर्छ
हाम्रा भावी सन्तानलाई हँसाएर ।
हामी पनि त हाँस्नपर्छ
हाम्रा अस्तित्वलाई बचाएर ।
प्रेम शेर्पा ‘विरोकी’