• २०८१ माघ ११ शुक्रबार

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रामप्रसाद पन्तलाई

काठमाडौँ । यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार साहित्यकार तथा साहित्यिक पत्रकार रामप्रसाद पन्तलाई बानेश्वरस्थित गुरुकुल नाटकघरमा आयोजित विशेष समारोहका बीच अर्पण गरिएको छ । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले उक्त पुरस्कार अर्पण गरे ।समारोहमा शर्माले जनस्तरबाट रकम संकलन गरी आफ्नो नाममा पुरस्कार राखेर गुन लगाएको बताए । उनले आफू सम्मान र आदरको भोको नरहेको भन्दै अब यति धेरै सम्मान र आदर नगर्न पनि आग्रह गरे ।

पुरस्कार ग्रहणपछि साहित्यिक पत्रकार पन्तले तिरस्कृत व्यत्तित्व पुरस्कृत हुन नहुने र पुरस्कृत व्यक्तित्व तिरस्कृत हुन नहुने बताए । उनले आफूले अब तिरस्कृत हुन नहुने दायित्व थपिएको अनुभूति गरेको पनि उल्लेख गरे । उनले आफूले प्राप्त गरेको सम्मान दायित्व प्रतिष्ठानमै राखेर सदुपयोग गर्ने पनि बताए । कार्यक्रममा पन्तद्वारा लिखित नियात्रा कृति ‘सोनार बांग्ला’ र अभिव्यक्ति साहित्यिक पत्रिकाको भर्खरै प्रकाशित अङ्कको पनि विमोचन समेत गरिएको थियो ।

विमोचित कृतिको बारेमा प्रा. डा. लक्ष्मणप्रसाद गौतम र पत्रिकाको बारेमा विधान आचार्यले समीक्षात्मक टिप्पणी गरेका थिए । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषका सदस्य सचिव देविका तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य, कार्यक्रमका सहभागि र अतिथिहरूलाई साहित्यकार किशोर पहाडीले स्वागत मन्तव्य, कोषका कोषाध्यक्ष शंकर भारतीले धन्यवाद ज्ञापन तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कार्यक्रम सञ्चालन गरेका थिए ।