• २०८० चैत ३० शुक्रबार

“नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव” विचार–गोष्ठी सम्पन्न

काठमाडौं,

युवाकवि तथा प्रथम नेपाली समालोचक मोतीराम भट्टको १५७ औं जन्मजयन्तीको उपलक्ष्यमा नेपाल प्रज्ञा– प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध ) विभागद्वारा आयोजित “नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव” विषयक विचार–गोष्ठी सम्पन्न भएको छ । वरिष्ठ लेखक, मार्क्सवादी चिन्तक/सौन्दर्यशास्त्री निनु चापागाईंको अध्यक्षता रहेको गोष्ठीको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य– सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगतप्रसाद उपाध्याय, गोष्ठीका कार्यक्रम संयोजक तथा प्रतिष्ठानका साहित्य (समालोचना र निबन्ध) विभाग प्रमुख प्रा. डा. गोपीन्द्र पौडेल , प्रवचनकर्ता त्रय प्रा. डा. लक्ष्मणप्रसाद गौतम, डा. रजनी ढकाल र डा. अम्बिका अर्याल , नेपाल प्रज्ञा- प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त , प्रा. डा. योगेन्द्रप्रसाद यादव , प्रा. डा. हेमनाथ पौडेल, प्रा. डा. उषा ठाकुर, माया ठकुरी, लक्ष्मी माली, डा. देवी नेपाल, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. कृष्णप्रसाद घिमिरे , प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष डा. मधुसूदन गिरी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका संयोजक समेत रहनुभएका प्रा. डा. गोपीन्द्र पौडेलले स्वागतमन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । प्राज्ञ पौडेलले नेपाली समालोचना क्षेत्र व्यापक रहेको र हाल समालोचना खण्डखण्डमा विभाजित भएको धारणा राख्नुभयो । पौडेलले भन्नुभयो– “अबको समालोचना र त्यसको गन्तव्य कता होला ? नेपाली समालोचनाको अबको दिशा के हुने भन्ने मोटामोटी निचोडमा पुगौं भन्ने कार्यक्रमको उद्देश्य हो ।” आजको कार्यक्रमले कम्तीमा त्यसको रुपरेखा कोर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव” विषयमा धारणा राख्दै प्रवचनकर्ता प्रा. डा. लक्ष्मणप्रसाद गौतमले वि. सं. २०४८ साल नेपाली समालोचनाको मानक विन्दु रहेको बताउँदै त्यसपछिका समालोचनामा चिन्तनको धरातल फराकिलो भएको बताउनुभयो । गौतमले भन्नुभयो– “समालोचना भनेको ज्ञानको निर्माण हो । समालोचकमा तेस्रो दृष्टि हुनु आवश्यक छ । ”उहाँले इन्द्रबहादुर राईले समालोचनामा ज्ञानको निर्माण गरेको बताउँदै हालका समालोचकहरूले त्यो दिशा पक्रन नसकेको बताउनुभयो । प्रा. डा. गौतमले नेपाली समालोचनाको मौलिक पाटोमा जोड दिँदै नेपाली हावापानी र माटो सुहाउँदो समालोचना हुनुपर्ने धारणा राख्नुभयो ।

सहप्राध्यापक डा. रजनी ढकालले मोतीराम भट्टबाट सुरु भएको नेपाली समालोचना क्षेत्र १३० वर्ष पुगेको बताउँदै यस बीचमा नेपाली समालोचना क्षेत्रले धेरै फड्को मारेको बताउनु भयो । डा. ढकालले भन्नुभयो– “अहिले समालोचना क्षेत्र व्यापक बनेको छ । अहिलेको समालोचनाले समाज रुपान्तरण, सांस्कृतिक विविधता, जातीय पहिचान, स्थानीयता जस्ता विविध विषयलाई सुन्दर ढंगले अभिव्यक्त गरेको छ ।” उहाँले पछिल्लो समय मार्क्सवादी समालोचना अत्यन्त शक्तिशाली ढंगले उपस्थित भएको बताउनुभयो ।

प्रवचनकर्ता डा. अम्बिका अर्यालले उत्तर आधुनिकतावादको ऐतिहासिकपक्षको विवेचना गर्दै विदेशमा पुरानो भइसकेको उत्तरआधुनिकतावादलाई नेपाली समाजले भने नयाँ मानेर अपनाइरहेको बताउनुभयो । अर्यालले भन्नुभयो– “समालोचना मूलतःमार्क्सवादी र गैरमार्क्सवादीदुईवटा धारामा नै विभक्त छ । तर, मार्क्सवादीहरू उत्तरआधुनिकतावादको विरोध गर्दागर्दै पनि नजानिँदो ढंगले त्यही विषयमा कलम चलाइरहेका छन् ।”उहाँले उत्तरआधुनिकतावादलाई आलोचनात्मक चेतका साथ हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रवचनकर्ता त्रयको धारणामा डा. मधुसूदनगिरी, प्रा. डा. भरत भट्टराई, डा. मुकुन्दशर्मा , डा. धनप्रसाद सुवेदी , ज्ञानु अधिकारी, प्रा. डा. जे. एन. पाण्डे र उमेश न्यौपानेले जिज्ञासा तथा पूरक धारणा राख्नुभएको थियोे । विचार– गोष्ठीलाई सम्बोधनगर्दै नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली समालोचना मोतीराम भट्टले श्रीगणेश गरेको बताउँदै देश, काल, परिस्थिति र घटनाक्रमले सिङ्गो समाज , साहित्य र समालोचना प्रभावित हुने बताउनुभयो । कुलपति उप्रेतीले भन्नुभयो– “पश्चिमीदर्शनको स्रोत नै पूर्वीय दर्शन हो । हाम्रा समालोचनाहरू पूर्वीय दर्शनसँग जोडेर हेर्नुपर्छ । हामीले समालोचनाको नयाँ दृष्टिकोण निर्माण गर्नुपर्छ ।”उहाँले दर्शन / दृष्टिकोणका क्षेत्रमापूर्वीय समाजमा धेरै महत्त्वपूर्ण काम भएको बताउँदै हामीले त्यसको दायित्वलिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रज्ञा- प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपाली मौलिकता, संस्कार र संस्कृतिलाई समालोचनामा जोड्नुपर्ने बताउनुभयो । उपकुलपति गुरुङले भन्नुभयो– “अब हामीले हाम्रै इतिहास , समाज र संस्कृतिको समालोचना बोल्नुपर्छ । विश्वका विभिन्न वादहरूको बारेमा नेपाली समाजमा बहस, छलफल र अध्ययन भइरहँदा योगमायावाद हुनसक्छ कि सक्दैन ??” उहाँले प्रश्न गर्नुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रज्ञा- प्रतिष्ठानका सदस्य– सचिव प्रा. जगतप्रसाद उपाध्यायले प्रतिष्ठानले समालोचना दिवस मनाउने बारेमा पनि सोचिरहेको बताउनुभयो । उपाध्यायले भन्नुभयो– ”पूर्वीय दर्शन हाम्रो हो । प्राचीन ज्ञानको उद्गमभूमी हाम्रो देश हो । हाम्रै ज्ञान, सीप युरोप/ अमेरिकाबाट विज्ञान बनेर आयो । हामी केवल उपभोक्तामा सीमित हुनपुग्यौं ।” उहाँले कार्यक्रम अत्यन्त उपलब्धि मूलक रहेको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष निनु चापागाईंले उत्तरसंरचनावाद नै उत्तर आधुनिकतावादको प्रस्थान विन्दु भएको बताउनुभयो । नेपाली समाजमा वि. सं. २०४५ सालमा अभि सुवेदीले उत्तर आधुनिकतावाद भित्र्याएको बताउँदै चापागाईंले उत्तरआधुनिकतावाद कुनैपनि हालतमा नेपाली समाज अनुकूल नरहेको बताउनुभयो । चापागाईंले भन्नुभयो– “उत्तरआधुनिकतावादले द्वैध चरीत्रको प्रतिनिधित्व गर्दछ । यो आफैंमा विरोधाभासपूर्ण छ । यसले सिद्धान्तको विरोध गर्छ तर आफैं सिद्धान्त निर्माण गर्छ । केन्द्रको विरोध गर्छ तर आफैं केन्द्रनिर्माण गर्छ ।” उहाँले आज नेपाली समाजको आवश्यकतालाई मध्यनजर गरेर संश्लेषण सहितको समालोचना आवश्यक रहेकोमा जोड दिनुभयो । डा. बालकृष्ण अधिकारीको सञ्चालनमा सम्पन्न विचार– गोष्ठीमा लेखक, कवि तथा पत्रकार सन्तोष सिम्खडाले प्रतिवेदकको भूमिका निर्वाह गर्नुभएको थियो ।


मुझे चाँद चाहिए

कविता

फरक– ११