समाचार

कवि बाबुराम श्रेष्ठ ‘यात्री’को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
सिन्धुलीको मरिणमा रहेर कविता लेखनमा सक्रिय कवियात्रीको पहिलो काव्यकृति २०६३ सालमा ‘देश स्वप्न’ प्रकाशित भएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. बरालले नेपाली साहित्यमा कवियात्रीका कविताले प्रगतिवादीधार समातेको चर्चा गर्नुभयो । कवियात्रीका कविताले वैदेशिक रोजगारीका पीडा, विद्यमान राजनीतिक अव्यवस्था, माओवादी युद्धले नेपाली समाजका विविध क्षेत्रमा पारेका प्रभावबारे भन्ने जमर्को गरेको डा. बरालले बताउनु भयो ।
कार्यक्रममा विद्यमान कविता लेखन, प्रबृत्ति र पुस्ताका विषयमा चर्चा गरिएको थियो । समालोचक ज्ञानु अधिकारीले कवितामा जति डुबेर, हराएर पढिन्छ त्यति मजा आउने बताउनु भयो । उहाँले भन्नुभयो, “कविता पढ्नु सरल छैन । कविले जुन चेतना, अनुभूति विचारमा डुबेर लेखेको हुन्छ त्यो तहमा कविता बुझ्नु जटिल बिषय हो ।”
कवि सुरेश किरणले अहिले शब्दकोश पल्टाएर कविताको अर्थ पढ्नु पर्ने समय नभएको बताउनु भयो । उहाँले कवियात्रीका कविता चर्चा गर्दै भन्नुभयो, “कवितामा शब्द छनोट र वाक्य निर्माण छोटा छन् । फ्रेस जस्तो लाग्यो । अरू कविको भाषासँग मेल खाएको लागेन । अहिलेको कविता सरल भाव, शैलीमा धेरै अर्थ भन्ने नै हो ।” यात्रीको ‘काठमाडौँहरू’ कवितामा असहमति राख्दै कवि किरणले भन्नुभयो, “काठमाडौंले कसलाई चुसेको छ र म काठमाडौंमा जन्मिएको मानिस हुँ । म सोच्छु बाहिरका मानिसले हामीलाई पो चुसिरहेको छ कि ?”
कवि महेश पौडेलले कविको भूगोलमा प्रवेश गरेर कविता पढ्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “क्लिस्ट शब्दको ठाउँमा सरलको खोजी हुनुपर्छ । नयाँ बिम्ब, प्रतिक, भाव अभिब्यञ्जना कविता पढ्दा पाउनु पर्छ ।” कवियात्रीले सहरभन्दा टाढा ग्रामीण वस्तीका अनुभूतिलाई आफूले कवितामा उतारेको बताउनु भयो ।
सिन्धुलीको विजयछापमा जन्मिएका कवियात्री हाल मरिणमा बसोबास गर्दै आउनु भएको छ । मरिण बहुमुखी क्याम्पस र कपिलाकोट माध्यमिक विद्यालयमा अध्यापनरत कवियात्रीले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर पछि काठमाडौँ विश्वविद्यालयबाट एमफिल गरिरहनु भएको छ ।