समाचार

काठमाडौंमा आयोजित एक समारोहमा साहित्यकार राजेन्द्र गुरागाईंको कृति ’शब्दहार’ (गीतसङ्ग्रह) लोकार्पण गरिएको छ । समारोहका प्रमुख अतिथि कवि विष्णुविभु घिमिरेले कृतिकार गुरागाईं कुशल अनुवादक हुनुका साथै स्वादिला गीत कविता लेख्न सिपालु कवि भएको बताउनुभयो ।साहित्यकार प्रमोद प्रधानले गुरागाईंका रचनामा राष्ट्रभक्तिका स्वरहरू कलात्मक रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो ।
सो पुस्तकको प्रकाशक संस्था प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले कृतिकार गुरागाईंका रचनाभित्र कलापक्ष प्रचूर मात्रामा रहेको कुरा विराटनगरबाट आफ्नो शुभकामना मन्तव्य मार्फत् व्यक्त गर्नुभयो । कवि राधिका गुरागाईं, कवि विमुश पौडेल तथा कृतिकार राजेन्द्र गुरागाईंले कृतिभित्रका केही गीतहरू वाचन गर्नुभएको थियो । समारोहमा साहित्यकारहरू राधेश्याम लेकाली तथा शान्तिमाया गिरीले मन्तव्य प्रकट गर्नुभएको थियो ।
राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ऋषभ घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।