• २०८० मंसिर १३ बुधबार

एउटा अघोषित मृत्यु

प्रकाश नेपाल

प्रकाश नेपाल

सन्नाटा छ
सुनिरहेछु
बलेनीमा तपतप
पानी परेको पर्यै छ
घर चुहिएर बिछौना सारिरहेछिन् मेरी अर्धाङ्गिनी
कहिले यता कहिले उता
भोको छोरो सुतिरहेछ मस्त
म भने रातदिनको यो झरीसँग
लडिरहेछु एउटा युद्ध– एकनास

लाग्छ–
जिन्दगी एउटा ढुङ्गा भैदिएको भए पनि हुन्थ्यो
टालेका सिरकभित्र पस्दै गरेको पानी
र रुझ्दै गरेको श्रीमतीको लाज
भोग्नुपर्ने त थिएन
ठूलो हुन्छस् भनी लेखिएका हातका भाग्यरेखाले
घन समातेर
दिनभरि गिट्टी कुट्नु त पर्ने थिएन
चरक्क दुख्नुपर्ने त थिएन जिन्दगी
कल्पिन्छु यस्तैयस्तै

पानी परेको पर्यै छ
ऊ हेर त !
फेरि घरको गाह्रोमा पानी छिर्दैछ
र सोचिरहेछु भित्रभित्रै–
अब गाह्रोले धेरै थाम्ने छैन
र ढल्ने छ गल्र्यामगुर्लुम्म
गाह्रो पनि रहने छैन
छानो पनि हुने छैन
अनि घर हुने छैन

जन्मने छ पीरो, थाकेको बिहान
भताभुङ्ग भत्केका सपनाहरूसँग
छिमेकीहरू गल्याङगुलुङ गर्नेछन् वरिपरि
हतारमा हुनेछन् छिमेकीहरू
भत्केका घरका दलिनहरू बोक्न
झम्टिनेछन् सिनुमा गिद्धहरू झम्टेजस्तै
अनि लाग्ने छन् आ–आफ्नो बाटो
यसरी एक अध्यायको समाप्ति हुनेछ
यस घरको अघोषित मत्युसँगै
सबै रित्तोरित्तो हुनेछ
मेरो मनजस्तै

……………………………………………………………………………………….
(नेपाल विगत एक दशकदेखि सिर्जनाका क्षेत्रमा कलम चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]