• २०८१ भाद्र २६ बुधबार

मेरो जन्मको सातौं दिन

अमिना सइद

अमिना सइद

मैले त्यहीँको भाषा बोलेँ
जुन संसारबाट म आएको थिएँ
एउटा छायाँले गवाही दियो
जुन छायाँ थियो कुनै अर्कै उज्यालोको
जसलाई कसैले देख्दै देखेन ।

मेरो जन्मको सातौँ महिनामा
मेरो मुखले शून्यको आकार लियो
सत्य के हो
यो बताउनका लागि म रोएँ
जुनकुरा मलाई वर्तमानले
भविष्यको अतीत बनेर सिकाएको थियो
तर कसैले पनि सुनेन ।

मेरो जन्मको सातौँ वर्षमा
मैले सपना देखेँ कि
यस संसारका क्रमवद्ध पानाहरूलाई
म पत्र–पत्र गरेर खोतलिरहेछु
र सम्झिन खोज्दैछु
जुन मैले बिर्सिनुपर्ने हो
र जुन म भित्र मर्दै गइरहेको छ ।

अनुवाद: राजेन्द्र शलभ