• २०८१ श्रावाण ११ शुक्रबार

नम्रता गुरागाईं

नम्रता गुरागाईं

भन्ने गर्थें म
आकाशको तारा झार्छु
नदीको प्रवाहलाई ठप्प पार्छु
पौडेर समुद्र तर्छु
जब जिम्मेबारी थपियो ममाथि
आफँैलाइ बिर्सिएर बाडिएँ सन्तानहरूमा
माया दिएँ, लिन जानिनँ
थोरै दिन मान्दै मानिनँ

समयको ड्राइभर म
यात्रीहरू बोकेर दौडिरहेँ
अझै दौडिरहेकै छु
बिसौनी नआउने यात्रामा

दौडनको मजा अर्कै रहेछ
दौँडदादौँडदै रोकिएर
अलिकति तातेमा बाँंडिएँ
अलिकति तोतेमा बाँडिएँ
पढाइ र बढाइमा बाँडिएँ
सत्ते होला धेरै समय म आफैँबाट टाढिएँ

हरेक नयाँ दिन
घामले क्षितिजका ओठहरूमा लाली पोत्दा
खै मेरा ओठहरू कस्ता देखिए
ऐना हेर्नै बिर्सिएछु
घरअगाडिको फूलबारीमा
घरपछाडिको करेसाबारीमा
भान्सा, धारा र पँधेरीमा
नातागोता, छरछिमेक र साथीभाइमा
बाँडिँदाबाँडिँदा
विडम्बना !
म आफ्नै रहरसँग बाँडिँन बिर्सिएछु

गुनासो केही लागेन
माया दिनकै लागि वीर बनेँ
पाइला सर्न नमान्ने उकाली चढेँ
पाइला छोडिने ओराली झरेँ
स–साना खोल्सा तरेँ
भयानक जङ्घार तरेँ
सत्ते होला !
आफूलाई त न कोरेँ न बाटेँ
भित्री रहर न कसैसित साटेँ
बाँडेर आफैँलाई सजाइरहेको संसारमा
सबैसबै अरूकै लागि गरेँ
आफूलाई त न कोरेँ न बाटेँ ।
…………………………….
(नर्थ क्यारोलाइना, अमेरिका)

[email protected]