• २०८१ पौष २९ सोमबार

कविडाँडा साहित्य सम्मान पाँच स्रष्टालाई

चितवन- कविडाँडा साहित्य समाजले पाँचजना लेखक, साहित्यकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । समाजको २०औं वार्षिकोत्सवको अवसरमा शनिबार भरतपुरको कविडाँडामा आयोजित कार्यक्रममा १५ हजार १६० रूपैयाँ राशिको कविडाँडा साहित्य सम्मान तथा देव-खीना स्मृति पुरस्कार २०७९ लेखक साहित्यकार रेशम विरही र तुलसी थापालाई प्रदान गरिएको हो ।

भरतपुर महानगरपालिका -१६ बस्ने रेशम विरहीका ‘मुलाको बोक्रा’,’आलीमुनिको झ्याउँकिरी’, ‘भित्ताको रंग’ मंगली गुप्ताको ‘पान पसल’, ‘थालथालमा सपना’ जस्ता कवितासंग्रह, ‘सुन्दरबस्ती’ बालकाव्य, ‘देब्रे आँखा’ र ‘सत्ता र स्वप्नदोष’ जस्ता निबन्ध संग्रह र ‘प्रेमदासको डायरी’ उपन्यास प्रकाशित छन् । वि. सं. २००९ सालमा जन्मेका विरही साहित्यसँगै पत्रकारिता क्षेत्रमा पनि सक्रिय छन् ।

त्यसैगरी मकवानपुरका तुलसी थापा कथा र कविता लेखनमा सक्रिय छन् । वि. सं. २००२ सालमा मकवानपुरको भैसेमा जन्मेका थापाका ‘अपरेशन टेबलबाट उठ्दै गर्दा’ र ‘जीवनका मोडहरू र जीवन प्रवाहका धार’ कथासंग्रह प्रकाशित छ । थापाको मसिना कविताहरूको संग्रह ‘निमेषको अन्तर’ पहिलो कृति हो ।

कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार २०७८ ‘मोक्ष’ उपन्यासका लागि सिर्जन अविरलले प्राप्त गरे । पुरस्कार राशि १५ हजार १६० रूपैयाँ छ । कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले पाए । पुरस्कारको राशी ३० हजार १६० रूपैयाँ छ । कविडाँडा राष्ट्रिय युवा वाङ्ममयी पुरस्कार तथा सम्मान युवा गजलकार लेखराम सापकोटालाई प्रदान गरिएको छ । ४० वर्ष नकटेका साहित्यसँग जोडिएकाले यो पुरस्कार पाउँछन् । पुस्कार राशि १५ हजार १६० रूपैयाँ रहेको छ ।

संस्थाले पुरस्कार र सम्मानका साथै नेपाली साहित्यका विविध पक्षहरूका बारेमा समय समयमा राष्ट्रियस्तरका गोष्ठीहरू पनि गर्दै आएको बताए ।