• २०८१ माघ १ मङ्गलबार

ह्वाइट हाउस लिटरेचर फेस्टिवल

काठमाडौँ/चैत २ २०७८

हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजले दुई दिने ‘ह्वाइट हाउस लिटरेचर फेस्टिबल’ मङ्गलबारदेखि सुरु गरेको छ ।

आजका युवा भोलिका कर्णधार मात्र नभएर वर्तमान समयको शक्तिशाली समूह हुन् । उनीहरूलाई आजको राजनीति, शिक्षा, साहित्य, सङ्गीत र सिनेमाजस्ता पक्षमा समेत जागरुक बनाउनुपर्छ भन्ने उद्देश्यले कलेजले फेस्टिबल सुरु गरेको हो । कलेजका अनुसार फेस्टिवलमा राजनीति, शिक्षा, साहित्य, सङगीत र सिनेमा विषयमा बहस तथा छलफल गरिनेछ ।

फेस्टिवलको पहिलो दिन चलचित्र अभिनेता राजेश हमाल, साहित्यकार नयनराज पाण्डे, चलचित्र निर्देशक मीन भाम, गायिका इन्दिरा जोशी, युवा नेताहरू मानुषी यमी भट्टराई, सुरेन्द्र बस्नेतलगायतकाले अहिलेको राजनीति, शिक्षा, साहित्य, सङ्गीत र सिनेका विषयमा परिचर्चा गर्दै युवा पुस्तालाई यसतर्फ केन्द्रित गर्न चाल्नुपर्ने कदमहरूबारे उल्लेख गरे ।

अभिनेता हमालले स्वभावले नै मानिसको रुचि अर्काे मान्छे बन्ने प्रयत्नमा हुने बताउँदै आफूबाट अरूले केही ग्रहण गरून् भन्ने शब्द र अभिव्यक्ति चयन हुनुपर्ने धारणा राखे । ‘अरूले के भन्ला, के सोच्ला भनेर नै हामी सोचिरहेका हुन्छौँ’, उनले भने, ‘सबैले मलाई नै सम्बोधन गरोस् भन्नु भ्रम हो । आफूसँग सम्बन्धित कुरा हेर्नेहरूले पाउनुहुन्छ कि हुन्न भन्ने मुख्य हुन्छ ।’ युवा नेताहरू भट्टराईलगायतले ‘राजनीतिमा युवा’ सेसनमा अहिलेको राजनीतिले युवापुस्ताका मुद्दालाई सम्बोधन गर्न नसकेको धारणा राखे । युवामैत्री, युवालाई अनुमोदन गर्ने, उमेरहद जस्ता नीतिगत प्रणाली राजनीतिमा नभएकाले यसतर्फ युवा पुस्ताको वितृष्णा बढेको भट्टराईले सुनाइन् ।

साहित्यकार पाण्डे, चलचित्र निर्देशक भाम र गायिका जोशीले ‘सङ्गीत, साहित्य र अभिनय’ सेसनअन्तर्गत नेपाली साहित्य, सङ्गीत र सिनेमाका बारेमा चर्चा गरे । पाण्डेले समय र समाज परिवर्तनअनुसार नेपाली साहित्य अगाडि बढिरहेको बताए । उनले भने- ‘अहिले साहित्यमा युद्ध, वैदेशिक रोजगार, महामारीजस्ता मनलाई स्पर्श गर्ने धेरै विषयहरू आएका छन् । अहिलेको साहित्य समय अनुकूल नै आइरहेका छन् ।’ भामले मौलिक नेपाली सिनेमाको परिचर्चा गर्दै गर्दा गायिका जोशीले सङ्गीतमा प्रविधिले मारेको प्रसङ्गलाई जोडिन् । हास्यकलाकार राजा राजेन्द्रले हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए ।