• २०८१ कातिर्क २५ आइतबार

आमाको आवाज

ऋषभ देव घिमिरे

ऋषभ देव घिमिरे

फु….फु…
नजाऊ अगेनु तिर
आगो छ- पोल्छ
मेरो बोली नफुट्दै
प्रस्तुत गरेका भाव हुन आमाका
म अवोध थिए
बुझ्थे आमाको अबोला स्वभाव

ज्ञानतुल्य हुन्थ्यो
भाव तरङ्गित आमाको आसय
बामे सर्दै ढोकाको सैठेलामा पुगेको म
टक्क रोकिन्थ्ये
र, समाउथेँ आमाको फरियाको फेर

यतिबेला !
म आमाको तैलचित्रमा पढिरहेको छु
को खाई….को खाई…? गरि
खुवाएका गाँसहरू
भँगेरासंग सम्वाद गर्दै
खेलाएका पलहरू
“पुन्टे र सिमिको बोट“ को कथा
राक्षस- राक्षसनीका दन्त्य कथाहरू
सम्झदै छु म आमाका अनगिन्ती उद्बोध
पढ्दै छु आमाका थुप्रै समर्पणहरू

अहिले म
पुग्न सक्दिन आमाको देश
आमासँगै रहेका अन्य पटहरूमा
एकटकले नियाली रहेकोछु
सरस्वतीको हातमा रहेको विणा
नारदले बजाउने एकतारे
मनोहर वंशीको प्वाल
पछ्याउँदै चराको बोली
म तिनैमा सुनिरहेको छु
आमाका कर्णप्रिय वाणीहरू

सवत्र ठक्कर खाएर
गुञ्जिए जस्तो लाग्छ
आमाको प्रतिध्वनि
सुनाए जस्तै लाग्छ
आमाले करूणाका पाठहरू
फैलाएर जुहीको जस्तै हात
खुवाए झैँ लाग्छ घोटिचौथी
सहस्रकोटी दूधका धारा बगाएर
मुसारिरहे झैँ लाग्छ
निधार, मुख, घाँटी र पेट

आमा जहाँ रहे पनि
म भित्रै समाहित छिन
आमाका जादुगरी मायाहरू
प्रत्येक सोहं….सोहंको गतिसंगै
मैले फेर्ने आश्वासका
मौनवचनले जपि रहेको छ
अनुभूत सार्थक प्रिय शब्द
आमा…..आमा…..आमा ।


(घिमिरे चर्चित कवि तथा साहित्यकार हुन् ।)
[email protected]