समाचार

भोजको मूल्य नै के र बमन भएपछि
वाचा के काम विश्वास गमन भएपछि
भो नहान वचनवाण कतै छुन्न मलाई
जिन्दगी नै वैराग्यमा शमन भएपछि ।
देवकै देवत्व पो चोर्ने मन छ
दुःखका पहाड फोर्ने मन छ
भरोसा गुमेपछि भावीमाथि
भाग्य आफैँले कोर्ने मन छ ।
चोट लुकाई मनैले हाँस्न सक्ने पो मान्छे
सद्भावको पिरती गाँस्न सक्ने पो मान्छे
अहङ्कार र लोभका मोहजाल फोडेर
द्वेषका जरा सदा मास्न सक्ने पो मान्छे ।
कोही हार्दा कोही भने जित्छन् यहाँ
रणनीतिले सत्यता नै खिच्छन् यहाँ
घेरिसक्यो कालले तर खै के खोज्दै
फणा उठाई मानवधर्म मिच्छन् यहाँ ।
घर जोडियो मन कहिल्यै जोड्न सकिनँ
अहम् चुली केहीले उसका तोड्न सकिनँ
छिमेकीको पगरी सित्तै गुथाउँछन् सबैले आफैँ
जली स्वार्थमा मन मोड्न सकिनँ ।
(अर्याल चर्चित साहित्यकार हुन् ।)
[email protected]