• २०८१ भाद्र २४ सोमबार

मेरो चाहना

बसन्त चौधरी

बसन्त चौधरी

आफूलाई
ढुङ्गामा परिणत गरेर
ईश्वर बन्नु भन्दा
म घाम बनेर
न्यानो बाँड्न चाहन्छु ।

मूर्ति बनेर
कतै मन्दिरमा सजिनु भन्दा
म पानी बनेर
यो देशको तिर्खा
मेट्न चाहन्छु ।

म राष्ट्रलाई ईश्वर मानेर
मेरो स्नेहले
सिञ्चन गर्न चाहन्छु
सेवाका फूलहरू अर्पिन चाहन्छु ।

कालो बादल
छाएको छ, देशभरि
वाचाहरूको बाली मात्र
लहलहाएको छ सबैतिर
तिनीहरू भाषणमा
समृद्धिको खेती गर्छन्
अरूलाई लडाएर
आफूमात्र अघि बढ्छन् ।

म यो कालो बादल
हटाउन चाहन्छु
कुरालाई होइन
कामलाई सम्मान गर्छु
अरूलाई लडाएर हैन
सबैसँग अगाडि बढ्न चाहन्छु ।

म मूर्तिहरूबाट निक्लेर
मनहरूमा बस्न चाहन्छु
म उज्यालो बनेर
छरिन चाहन्छु ।

साभार: मेघा (कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)