• २०८० मंसिर १५ शुक्रबार

यमराज

डम्बर बिकेल

डम्बर बिकेल

हिमाल उत्तरमा
बीचमा पहाड
तराई दक्षिणमा
पूर्व मेचीदेखि पश्चिम कालीसम्म
डाँडाकाँडा, पाखापखेरा,
नदी, तालतलैया,
हरिया वन, शीतल पवन
आहा ! स्वर्गको टुक्रा मेरो देश

जन्म हुन्छ यमराजको नेपालकै कोखबाट
अनि भन्छ  खाता पल्टाऊ चित्रगुप्त
को हुन् यी अगाडि उभिएका ?
हुन्छ जवाफ चित्रगुप्तको
माया बिक, अगिरा पासी, मनवीरे सुनार,
सङ्गीता परियार, सेते दमाई, शिवशङ्कर दास, अस्मिता सार्की, माया सार्की
हुन्छ जवाफ यमराजको
मान्छे भनेको त यिनीहरू पो रहेछन्
त्यो दनदनी बलेको आगोमा हाल्देऊ यिनीहरूलाई
जलाइन्छ आगोमा जिउँदै

अर्को खाता पल्टाऊ चित्रगुप्त
को हो यो ?
जवाफ हुन्छ चित्रगुप्तको
नवराज बिक
हुन्छ जवाफ यमराजको
मान्छे भनेको त यो पो रैछ
त्यो नदीमा फाल्देऊ यसलाई
फालिन्छ नदीमा जिउँदै

अर्को खाता पल्टाऊ चित्रगुप्त
को हो यो ?
हुन्छ जवाफ चित्रगुप्तको
रूपा सुनार
जवाफ हुन्छ  यमराजको
मान्छे भनेको त यो पो रैछे
त्यो उम्लिएको तेलमा हाल्देऊ यसलाई
हालिन्छ तातो तेलमा जिउँदै

स्वर्ग हुनुपर्छ मेरो देश
नर्क हुनुहुन्न मेरो देश
मृत्यु  हुनुपर्छ  यमराजको
पुनः जन्म हुनुहुन्न यमराजको
मेरो देश नेपालमा


डम्बर बिकेल
[email protected]