रम्बास कविता

भर्यांग पनि ओर्लिएपछि फर्केर हेरेँ । आमा माथि त्यही ठाउँमै अड्किरहेकी थिइन् । उनी सङ्कटकालमा सुरक्षाकर्मीले खानतलासी गरेझैँ आफ्नो ब्यागका खल्तीहरू खोतलखातल गर्दै थिइन् । म बूढानीलकण्ठ भगवान्को दर्शन गरेर घर र्फकने हतारमा थिएँ, त्यसैले फटाफट हिँडेकी थिएँ । भुराहरूलाई एक घन्टामै फर्कने सर्तमा हामी आमाछोरी बल्लबल्ल उम्केर यता लागेका थियौँ । तर, आमाको अलमलले मेरो हतार झन् बढायो । ओर्लिसकेको अन्तिम भर्यांग उक्लिएर आमानजिक पुगेँ । उनी अझै केही खोजिरहेकी थिइन् । हल्कासँग झकभक्याएर आफू आएको जनाउ दिएँ । आमा अलिकति झस्किइन्, कल्पनै नगरेको मान्छे झ्वास्स अगिल्तिर आएजस्तो । तर, आफ्नो सुर छोडिनन् । ‘के खोजेकी आमा ?’ म सायद झर्किएछु पनि । आमाले निधारमा गाँठो पारेर मतिर अनिच्छाभावले हेरिन् मात्र ।
‘होइन, असर्फी नै खोजेजस्तो के खोजेकी भन्या ?’ मलाई छोराछोरीको याद आयो । खानाको चिन्ता थिएन, बिहान बनाइदिएर आएकी थिएँ, आफैँ खान सकिहाल्थे । तर, हप्ताको एकदिन उनीहरू मलाई मिस गर्न चाहँदैनन्, म पनि उनीहरूलाई । त्यसैले आमासँग झर्किएछु । आमा र म साथीजस्ता छौँ । विवाह भएर गए पनि आमा र मबीचमा सुख–दुःख, घर–व्यवहार सबै कुरा साटासाट हुन्छ । गाउँतिर धेरैजसोका छोराछोरीले आमालाई तिमी नै भन्छन् । सहरतिर पसेपछि मात्र यो सम्बोधन तपाईं हुँदै हजुरसम्मको सभ्यतामा पुग्छ । म पनि आमालाई तिमी सम्बोधन गरेरै हुर्किएँ । मैले आमालाई तिमीमै आत्मीय पाउँथेँ । सायद यो कुरामा हामीलाई सहरले सभ्य र आधुनिक बनाउन सकेन ।
‘ए मलाई पाँच रुप्याँ दे त, मैले खुद्रा भेटिनँ ।’ मेरो हडबडीको उनलाई वास्ता थिएन । यसले मेरो अधीरता अझ बढायो ।
‘तिमीले सुनकै डल्लो कतै खसाएजस्तो मानेकी थिएँ ।’ यति भन्नासाथ मलाई आफू आमासँग कुरा गर्दैछु भन्ने बोध भयो, मलाई हल्का पश्चात्ताप पनि भयो । मैले बोलीमा केही नरमपन ल्याउने प्रयास गर्दै सोधेँ– ‘आमा ! तिमीलाई पाँच रुपैंयाँ किन चाहियो, त्यो पनि यतिवेलै ?’
उनी आफ्नै सुरमा थिइन् । स्वाभाविकरूपमा भनिन्– ‘हेर न छोरी ! यी बूढी चिसो छिँडीमा कक्रक्क परेर माग्न बसेकी छिन् । आफन्त कोही नभएरै होला । केही पैसा दिऊँ भनेर ब्यागमा खोजेको, खुद्रै पाइनँ । दे न बाबु पाँच रुप्याँ ।’
मैले आमाको हातमा पाँचको नोट राखिदिएँ । आमाले त्यो बूढीको हातमा राखिदिँदै बूढानीलकण्ठतिर फर्केर ढोगिन् । मानौँ भगवान्लाई भनिरहेकी छन्– ‘मैले पुण्य गरेको हेरिराख भगवान् ! पछि देखिनँ भन्न पाउँदैनौ ।’ मैले पनि उनकै देखासिकी गरेर ढोगेँ तर मलाई यतिखेर भगवान्को भन्दा आफ्ना छोरीछोरीको बढी सुर्ता लागिरहेको थियो ।
हामी आमाछोरी तल झर्यो र एउटा माइक्रो चढ्यौँ । एकछिन सुस्ताएपछि आमासँग मैले सोधे– ‘आमा ती बूढीलाई पैसा दिन किन यति हत्ते गरेकी ?’
‘कस्तो कुरा गर्छे यो, माग्नेलाई किन पैसा दिने भनेर पनि सोध्छन् कसैले ?’
‘ल ल ठीक छ, अरूले नसोध्लान् तर मलाई भनिदेऊ । जाबो पाँच रुपैंयाँ दिन तिमीले यति हत्ते किन गरेकी ?’
‘बूढी भैसकिस् तर पनि तँलाईं पाप–धर्मको हेक्का छैन ।’ उनले मतिर हल्का व्यङ्ग्य मिसाएर हेरिन्, मानौँ म अबोध काखे बालक हुँ । भनिन्– ’बूढाबूढीलाई दान ग¥यो भने धर्म हुन्छ ।’
आमा गाउँबाट मलाई भेट्न आएकी थिइन् । आमाहरू छोराछोरीलाई भेट्ने निहुँले भगवानलाई पनि भेट्न मन्दिर धाउँछन् । आमा यही सिलसिलामा थिइन् र म धेरैजसो उनको
‘लोकल गाइड’ भएकी थिएँ । त्यसदिन आमाछोरीको वार्ता पनि त्यति लम्बिन पाएन । म घर पुग्ने हतारमा थिएँ, मेरो मन माइक्रोभन्दा तीव्रगतिमा दौडिरहेको थियो । आमा जति भगवान्प्रति आस्थावान् देखिन्छिन् र भगवान्का लागि माग्ने र अरू दुःखीहरूको समस्यालाई जति हार्दिक रूपले बुझ्छिन् । त्यसको विपरीत आफ्नै ८० वर्षे सासूका सम्बन्धमा भने त्यत्तिकै कठोर व्यवहार गर्छिन् । यो मलाई मन परेको थिएन ।
अर्को दिन मैले भनेँ–‘आमा माग्नेहरूप्रति तिमी किन यति दयालु हुन्छ्यौ ?’
आमाले अलि छक्क परेको भावले मतिर हेरिन् र भनिन्–‘धर्म हुन्छ नि, त्यति पनि बुझ्दिन यो लाटी त ।’
’ए–ए धर्मको कुरा पो !’ अब म आमाको नाडी छाम्न थालेँ, सोधेँ–‘तिमीले परत्र सुधार्न यसो गरेकी !’
‘हो नि, तिमीहरूलाई यस्ता कुरा ख्यालठट्टा लाग्छन् ।’ मलाई लाग्यो, अब आमा पूरै खुल्ने जमर्कोमा छिन्, खिया लागेको ताल्चामा पेट्रोल हालिदियो भने कहिलेकाहीँ खुल्छ, हो अहिले आमाको मनको ताल्चा मेरा वचनको पेट्रोलले बिस्तारै खुल्दैगएको अनुभव गरेँ ।
मेरो हातबाट सुन्तलाको केस्रा लिँदै भनिन्–‘यहाँ धर्म गर्यो भने त्यसको फल माथि पाइन्छ ।’
अब मैले आमाको मनको खिया पूरै पुछिसकेको अनुभव गरेँ र आमाका अलिअलि फुल्न थालेका केशहरू बिस्तारै उखेलिदिएको बहाना गर्दै भनेँ–‘उसो भए आमा तिम्रो घरमै भएकी आफ्नै सासूलाई चाहिँ तिमी किन हेला गछ्र्यौ ? खान पनि राम्रो दिन्नौ, वचन लगाइरहन्छ्यौ, तिनलाई राम्रो गर्दा नर्कको वास हुन्छ, हो तिमीलाई ?’
‘तेरी हजुरआमाको कुरा गरेकी तैँले ? त्यस बूढीलाई राम्रो ग¥यो भने पाप लाग्छ । म सुत्केरी हुँदा त्यस बूढीले मलाई खसीको टाउकाको मासु सालको पातमा हालेर दिएकी मैले कहाँ बिर्सेकी छु र, तँ १५ दिनकी मात्र थिइस्, न्वारन गरेको भर्खर ४ दिन भएको थियो । मलाई बूढीले निकै टाढा पानी लिन पठाइन्, गाग्रो बोकाएर । मलाई कस्तो भयो होला ? मेरो कुरा कसैले बुझ्दैनन् । यति हुँदाहुँदै पनि मैले तिनलाई आफ्नै घरमा सहारा दिएकी छु, यो नै ठूलो कुरो हो ।’ आमा अहिले निकै कड्किएकी थिइन् । मैले उनको रौद्ररूप प्रकट हुनुअघि नै मत्थर पार्ने विचारले भनेँ– ‘आमा तिमीलाई सोधेको पो त, बूढीको सेवा गर त मैले भनेकी छैन । तिमी धर्मात्मा मान्छे, के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ, यसमा तिमीलाई जति जानकारी कसलाई छ र ?’ आमा मेरो कुराले सन्तुलन गुम्न लागेको गाडी घुमाउरो बाटोमा आएजस्तो भइन् । तिमी ‘रिसाउँदिनौ भने एउटा कुरा सोधौँ है?’ मैले नजानिँदो गरी चाउरिन थालेको उनको अनुहारको भाव पढ्ने प्रयास गर्दै भनेँ ।
‘सोध् न सोध्, तँसँग किन रिसाउनु ?’
‘मेरी हजुरआमाले त तिमीलाई दुःख दिइछन्, ल ठीकै छ । तर, ती माग्ने बूढीले तिमीलाई सुत्केरी हुँदा बटुकाभरि खसीको ह्याकुला पस्किएकी थिइन् ? मैले माग्नेलाई नदिनु भनेको होइन, देऊ तर घरकै बूढीलाई हेलाँ गरेर माग्नेलाई दिएर धर्म कमाउँछु भन्नुको के अर्थ हुन्छ ?’
वातावरण स्तब्ध भयो । मैले आमाको र आमाले मेरो अनुहार हेराहेर ग¥यौँ । लामो निस्तब्धतालाई आमाले नै चिरिन्–‘तेरी हजुरआमाको त सम्पत्ति छ नि, त्यो बूढीजस्तै हो र ?’ मैले भनेँ–‘तर आमा हातगोडा बसेको अशक्त र जीर्ण मान्छेलाई जति नै सम्पत्ति भए पनि के हुन्छ र ? उनले मर्दा त्यो सम्पत्ति बोकेर जाने होइनन् । यस उमेरमा त सम्पत्ति होइन, एक गाँस मीठो खाना र न्यानो व्यवहार पो चाहिन्छ, होइन र ?’ आमा यसपटक केही बोलिनन्, सायद मेरो कुराले उनीभित्रको संवेदनामा कतै छोयो वा चिमोट्यो ।
मैले थपेँ–‘आमा–बुबाको श्राद्धमा गाउँभरिका मान्छेलाई ख्वाउनुभन्दा ती बूढीआमैका लागि तिमीले अलिकति सोचिदियौ भने ठूलो पुण्य हुन्छ । तिमीले शास्त्रका कुरा धेरै सुनेकी छौ, रामायण–महाभारत पनि बुझेकी छौ । तिनमा पनि त आमासमानकी सासूलाई अपमान गर्दा राम्रो हुन्छ त भनेका छैनन् होला । ‘क्षमा हि परमो धर्म’ भन्ने त तिमीले नै मलाई रटाएकी हौ ।’ आमा केही बोलिनन्, टोलाइरहिन् मात्र । भोलि बिहानै आमालाई बसमा पु¥याउन कलङ्की जानुथियो, त्यसैले पनि यो वार्ताअघि बढ्न सकेन । तर, पनि ओछ्यानमा ढल्किनुअघि आमाको अनुहारमा देखिएका भावहरूले उनी कुनै गम्भीर मन्थनमा छिन् भन्ने लाग्थ्यो । आमालाई ओछ्यानमै छोडेर म पनि आफ्नो कोठामा लागेँ ।
बिहान उठेर सबैभन्दा पहिले मेरा आँखा घडीको सुईमा परे । म आत्तिएँ, सात बज्नै लागेछ । जति ढिला गर्यो, त्यति बसमा भीड हुन्छ । सात बजे त कलङ्की नै पुग्ने सोचेकी थिएँ । म आत्तिँदै आमालाई उठाएर बाथरुममा पसेँ । मैले सोचेँ, म बाथरुमबाट निस्किसक्दा आमा पनि तयार हुन्छिन् । तर, त्यसो भएन । म आमाको कोठामा पस्दा उनी ओछ्यानमै पल्टिरहेकी थिइन् । ‘ए आमा तिमीले यो के गरेको ? यति ढिला गर्यो भने राम्रो बस पाइँदैन । उठ न, छिटो बाथरुम गइहाल !’ मैले आमालाई भनेँ । तर आमा उठिनन् । भनिन्–’तेरा कुराले रातभरि सुत्न सकिनँ । म आज घर फर्किन्न छोरी ।’ आमाको कुराले म फेरि छक्क परेँ । एकाबिहानै के भयो बूढीलाई ? उनको अनुहारमा हेरेँ, कुनै सन्ताप, रिस वा तनाव थिएन ।
‘के भनेँ त्यस्तो बिझाउने र मैले ?’ मैले आश्चर्य प्रकट गरेँ ।
उनले भनिन्–‘बिझाउने होइन, तैँले सम्झाउने कुरा गरिस् । म आज पशुपति गएर मात्र घर र्फकन्छु ।’ यसपटक आमा अलिक हतारमा थिइन् । मैले अस्ति मात्र सोधेकी थिएँ, पशुपति जाने होइन, भनेर । तर उनले चासो देखाइनन् । भनिन्– ‘होस् यसपटक नजिकका तीर्थ हेलाँ हुने भए ।’ बूढानीलकण्ठ र दक्षिणकाली टाढा भए पनि उनले दर्शन गरेकी थिइन्, पशुपति अर्कोपालिलाई थाँती राखेकी थिइन् । आमाको यस निर्णयले म फेरि आश्चर्यमा पर्न स्वाभाविक थियो । भनेँ–‘के भनेकी आमा तिमीले, हिजो त यस्तो कुरा भएको थिएन । तिमी त बित्यो, बित्यो, फर्किहाल्छु भन्थ्यौ ।’
आमा स्वाभाविक स्थितिमा थिइन् । आँखा मिच्दै नम्र भावमा भनिन्–‘मैले रातभरि तेरो कुरा सोचेँ र पशुपतिनाथ जाने टुङ्गोमा पुगेँ ।’ उनले मेरो हात समाइन् र मलाई फकाउने भावमा भनिन्–‘म अब सासूका लागि पशुपतिको फूल–पर्सादी लिएर मात्र र्फकन्छु ।’ मैले आमाको अनुहारमा हेरेँ, गहभरि आँसु टलपलाइरहेको थियो, पुछिदिएँ । उनी भनिरहेकी थिइन्–‘हामी सासू–बुहारीको साइनो पुरानै भए पनि व्यवहार भने आजदेखि आमा–छोरीको हुनेछ । आजदेखि म उनलाई छोरी भएर सेवा गर्नेछु ।’
मेरो मनले सोचेको कुरा भैरहेको थियो तर यसलाई बाहिर आउन नदिई अलिकति ठट्यौलो पारामा सोधेँ– ‘तिमी रातारात कसरी यति बदलियौ?’ तर आज उनी ठट्टा गर्ने मुडमा थिइनन् । भनिन्–‘तैँले हिजो भनिस् नि, ‘घरको पाको मान्छेलाई सास्ती दिएर पराईलाई दान गर्दैमा धर्म हुँदैन ।’ मैले यस विषयमा रातभरि सोचेँ । हो छोरी म रातभरि लाटकोसेरोजस्तै ननिदाई छटपटाइरहेँ । म त घरमै भएका देउतालाई अनादर गरेर ढुङ्गाको मूर्तिलाई पो पुज्दै रहेछु । तर अब मेरा आँखा खुले ।’ उनले मेरा पाखुरामा च्याप्प समाएर आफ्नै छेउमा तानिन् र बसाइन् । आमाले भनिन्–‘ल अहिल्यै मलाई पशुपति पुर्याएर ल्या, म भोलि घरको देउतालाई चढाउने फूल–पर्सादी लिएर आउँछु ।’ मेरो आँखामा अनायास खहरे रसायो, वाक्य फुटेन । मैले आमालाई गम्लङ्ग अँगालो हालेँ । उनकै बाहुलामा थाहा नपाउने गरी आफ्ना रसाएका आँखा पुछेँ अनि आमालाई डोर्याउदै पशुपतिको यात्रामा निस्किएँ ।
………………………..
(हाल भर्जिनिया, अमेरिका । शर्मा विगत दुई दशकदेखि सिर्जना विधामा निरन्तर कलम चलाउँदै आएकी स्रष्टा हुन् )