समाचार

कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले आरोहण गुरुकुलमा २०७८ सालको कृष्ण भूषण बल सिर्जना पुरस्कार तीन स्रष्टालाई समर्पण गरेको खबर छ । हामीलाई सन्देश बाकसमा प्राप्त सन्देश अनुसार प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार, कवि तथा गीतकार दिनेश अधिकारीलाई, कृष्णभूषण बल स्मृति सिर्जना विशेष पुरस्कार, कवि सुधा एम राई (सिक्किम) र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार, कवि रोशन परियारलाई प्रदान गरिएको छ । उक्त पुरस्कार प्रमुख अतिथि कवि तथा गीतकार शिवशंकर थापा, प्रतिष्ठानका उपाध्यक्ष केशव आचार्य, संरक्षक शोभा लामा बलले प्रदान गर्नुभएको थियो ।
काव्य महोत्सवको रूपमा मनाइएको समारोहलाई कवि कृष्णभूषण बलका कालजयी कविता, समकालीन कविता, गीत गजल र मुक्तक गरी पाँच सत्रमा विभाजन गरिएको थियो । प्रतिष्ठानको परिचय र स्वागत संस्थाका महासचिव विवश पोखरेलले, संयोजन सचिव सुमन पोखरेल र पुरस्कृत स्रष्टाको परिचय कृष्ण बराल ,नीला तामाङ, कुमार भट्टराईले गर्नुभएको थियो । करिव पाँच घन्टा चलेको महोत्सवमा कवि जसराज किराती, दिनेश अधिकारी, सुधा एम राई, मनु मन्जिल, गणेश निरौला, गोकुल अधिकारी, देवान किराती, मधु पोखरेल, धनकुटे, कान्छा, राजेन्द्र गुरागाइँ , जयन्ता पोखरेल, रामबाबु दाहाल, शुभलक्ष्मी लम्साल, रोहिणी रसिक, रोशन परियार, निर्मल तामाङ, धीरज राई , दीपक सम्चु, मन्जुश्री गिरी , राधा भट्टराई , पुष्पा सायरा, लक्ष्मी रायमाझी, पूजा आराधना, राधिका गुरागाइँ, उमेश लुइँटेल, निर्मला कोइराला, लक्ष्मी पोखरेल, पूजा बहार, सरिता तुलाधर, प्रीन्स प्रमोद, सविता भण्डारी लगायत पचास भन्दा बढी कविहरूले कविता, गीत, गजल मुक्तक वाचन गर्नुभयो । कार्यक्रमको सञ्चालन कवि रमेशचन्द्र अधिकारीले गर्नु भएको थियो ।