• २०८२ आश्विन २८, मंगलवार

तिमी सुन्न सक्छौ…

अशूरा एतवेबी

अशूरा एतवेबी

आत्मासम्म जाने बाटो
तिमी उँटमाथि चढेर पुग्न सक्तैनौ
आत्मासम्म जाने बाटो
तिमी कल्पना गरेर पुग्न सक्तैनौ ।

तन्द्रामा पनि सुन्न सक्छौ तिमी केही कुरा
केटाकेटीहरूको खुट्टाका बिच फुटबलको गुडाई
कौसीबाट झरिरहेको सानो ढुङाको आवाज
दक्षिण तिर गइरहेको पंक्षीहरूका प्वाँखको सरसराहट
कुनै शानदार घरको बार्दलीमा
बसिरहेको बुढी आमाको विश्वास
कुनै गुँडबाट आइरहेको चींचींको कोरस
आरूका रूखमा पहिलो चोटी फूल फुल्नु ।

दुनियाँको दृष्टिकोणबाट
म हेर्छु रातको कालो आवरण
पहरेदारले बजाएको सिटी
नदी किनारामा छरिएका फूलहरू
मलाई पछ्याई रहेको एउटा मान्छे ।

आफ्नो सिरानी मुनि
मैले एउटा सूर्य राखी सकेँ
जसरी जसरी यो अंकुरित हुँदै जान्छ
हुँदै जानेछ झन् झन् जवान ।

अनुवाद: राजेन्द्र शलभ