उठूँ
तान्दिऊँ रेलको सिक्री
जोडले चिच्याऊँ
रोक-रोक
एकछिन हेर्न त देऊ दुई आँखाभरि
यी बग्दै गरेका नदीका कलकल
एकछिन बिसाऊ पुलमा
उठूँ
थर्काऊँ चलिरहेको मिटिङमा
कड्केर कडा हाकिमलाई
तपाईं अब चुप लाग्नूस् हाकिस साब
बस् अति भयो,
धेरै सुनिसक्यौँ तपाईंका मन्त्रमुग्ध फतफत
उठूँ
निवेदन गरूँ शिखरवार्ता गरिरहेको राष्ट्रनायकसँग
अब यो तमासा बन्द गर
लेऊ, हस्ताक्षर गर यस संयुक्त घोषणापत्रमा
कि आ-आफ्नो भूमिका मानिसहरूलाई
हामी फतफताउन बन्द गर्छौं
तुरुन्त
उठूँ
नमागी सल्लाह दिऊँ यी उदास पातहरूलाई-
आफ्नो इच्छा यसरी मार्नु पनि
उचित होइन
उड तिमी यस वृक्षबाट एकैपटक
आफ्नो कुनै प्रिय रुखको पातलाई चुम
इच्छा भए फेरि फर्केर आऊ एकपटक
उठूँ
निवेदन गरूँ कवि-समालोचकहरूसँग-
दिमागलाई यति भारी किन बोकाउनुहुन्छ तपाईं
अलिक आफ्नो हैसियत कम गर्ने
कोसिस गर्नुस् !
उठूँ
र, भनूँ कविताबाट खोजेर ल्याउन एक शब्द
जहाँ आँपको अचारको सुगन्ध होस्
जो उच्चारण मात्रले
खुलोस्
वर्षौंदेखि बन्द डोका
घनघोर वन या नदीमा
जसको हात समातेर
हामी सकौँ पाउन पार !
अनुवाद: रमण घिमिरे